Advertisement Ad

उत्तरपूर्वी पाँचथरः सिमा क्षेत्रको सौन्दर्य

Advertisement Ad

सन्देश सुब्बा

३० फागुन २०८०, पाँचथर। पूर्वी नेपालको पहाडी जिल्ला हो, पाँचथर । यो जिल्लाको ४४.३८ किलोमिटर भू–भाग भारतसँगको सिमा क्षेत्र पर्छ । भारतको वेष्ट बेङ्गाल र सिक्किम राज्यसँग जोडिएको छ, पाँचथरको भू–भाग । जिल्लाको याङ्वरक र फालेलुङ गाउँपालिकाले सिमा क्षेत्र छुन्छन् ।

सिमा क्षेत्र उच्च पहाडी तथा हिमाली क्षेत्र पर्छ । माथिल्लो भू–भाग त्यसै पनि रमणीय हुन्छ । रहरलाग्दो डाँडाकाँडा । मनलाई फुरुङ्ग पार्ने नागी र चउर । स–साना पोथ्रा र बुट्यानको सुन्दरता । नाङ्गो आँखाले मनमोहक हिमालका दृष्यलाई नियाल्दै रमाउनुको आनन्द छुट्टै हुन्छ ।

पाँचथर–ताप्लेजुङ र सिक्किम सिमावर्ती क्षेत्रमा अवस्थित तिम्बुङ पोखरी।

स्वदेशी तथा बिदेशी पर्यटकको भिड लागिरहने सन्दकपुर छेउको आहालडाँडादेखि प्रशिद्ध तीर्थस्थल तिम्बुङपोखरीसम्मको सिमा क्षेत्र यस्तै प्राकृतिक सौन्दर्यले श्रृङ्गारिएको छ ।

सिमा क्षेत्रमा पर्ने खुला र रमणीयस्थल चारराते यहाँको आकर्षक पर्यटकीय गन्तब्य हो । यहाँ हरेक नयाँ वर्षमा चौरी पालन व्यवसाय प्रबद्र्धनका लागि चौरी महोत्सव हुन्छ । देश–विदेशका मानिस चारराते पुग्छन् । नेपाल तथा भारतको वेष्ट बेङ्गाल र सिक्किम राज्यको त्रिकोणात्मक संगमस्थल तीनसिमाना र फालोट सिमा क्षेत्रमै पर्छ । जहाँ सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्छ । सन्दकपुर–फालोट भारतीय पर्यटकहरुका लागि चिर्चित ट्रेकिङ रुट हो ।

चौरी महोत्सवको बेला फालेलुङ–४, चारराते।

याङ्वरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ सिमा क्षेत्रको अब्बल पर्यटकीय गन्तब्य हो । चिवाबाट पहाडैपहाड भएर पूर्व–पश्चित जोड्ने मध्यपहाडि लोकमार्ग सुरु हुन्छ । पाँचथर–ताप्लेजुङ र सिक्किम सिमावर्ती क्षेत्रमा रहेको छ– तिम्बुङपोखरी । जुन पूर्वकै प्रशिद्ध तीर्थस्थलको रुपमा चर्चित छ । सिजनमा तिम्बुङमा तीर्थयात्रीको भिड लाग्छ । जेठदेखि सुरु हुने तिम्बुङ तीर्थयात्राको सिजन साउन अन्तिमसम्म चल्छ ।

विश्वमै दुर्लभ रेडपाण्डाको बासस्थान
सुन्दर प्राकृतिक छटाले सजिएको सिमा क्षेत्र दुर्लभ तथा लोपोन्मुख जङ्गली जीवजन्तुको बासस्थान पनि हो । उक्त क्षेत्रमा विश्वमै दुर्लभ रेडपान्डा (हाब्रे) पाइन्छ । रेडपान्डा नेटवर्कले स्थानीय साझेदार संस्थाहरुसँगको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गर्दै आएको छ ।

दुर्लभ रेडपाण्डा (हाब्रे)।

पाँचथर, इलाम र ताप्लेजुङको उच्च पहाडि क्षेत्रलाई समेटि पिट (एक्ष्त्) करिडोर बनाएर संरक्षणको काम गरिएको करिडोरमा एक सयभन्दा बढी रेडपान्डा रहेको बताइन्छ । रेडपाण्डाको गणना गर्न राखिएको क्यामेरा ट्रयापिङ्मा दुर्लभ पाटे बाघ समेत भेटिएको संरक्षण साझेदार संस्था दीपज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए ।

बहूमूल्य जडिबुटिको राजधानी
सिमा क्षेत्रलाई बहूमूल्य जडिबुटिको राजधानीको रुपमा पनि चिनिन्छ । सिमा क्षेत्र प्राकृतिक सुन्दरताले मात्र होइन विभिन्न किसिमका बहूमूल्य जडिबुटिले पनि भरिएको छ ।

तिम्बुङ क्षेत्रमा पाइने जडिबुटि केन्जो।

सतुवा, बिखुमा, पाखनवेद, कुड्की, पदमचाल, पाँचऔंले, वनलसुन, केन्जो, चिम्फिङ, टिमुर, जट्टामसी लगायतका औषधीय गुणले युक्त दर्जनौं जडिबुटि सिमा क्षेत्रमा पाइने याङवरक–२ फलैंचाका समीर बेघाले बताउछन् ।