Advertisement Ad

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फिदिमले पचायो

Advertisement Ad

३० फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार तेस्रोपल्ट प्रथम हुँदै फिदिम माविले शिल्ड पचाएको छ।

फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा २६ स्वर्ण, १९ रजत र ८ कास्य पदक सहित फिदिम नगरपालिका प्रथम भएको हो। यो सँगै २०७८, ०७९ र २०८० को लगातार विजेता बन्दै फिदिम नगरपालिकाले शिल्ड पचाएको हो। २०७८ मा स्थानीय तह सहभागि हुने परम्परा नभए पनि त्यतिबेलाको विजेता फिदिम मावि भएकाले राष्ट्रपति रनिङ शिल्डको निर्देशिका अनुसार फिदिमले शिल्ड पचाएको जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले बताए।

प्रतियोगितामा २० स्वर्ण, १६ रजत र ११ कास्य पदक जितेको याङवरक गाउँपालिका द्वितीय हुँदा र ७ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेको फालेलुङ गाउँपालिका त्रितीय बन्यो। प्रतियोगितामा मिक्लाजुङ गाँउपालिकाले ६ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्यो। हिलिहाङ गाउँपालिकाले २ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दा फाल्गुनन्द गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ९ कास्य पदक जित्न सफल भयो। कुम्मायक गाउँपालिकाले २ स्वर्ण र ३ रजत पदक जित्दा तुम्बेवा गाउँपालिका भने स्वर्ण बिहीन रह्यो। उसले १ रजत र २ कास्य पदक जित्यो।

महिला तथा पूरुष भलिवल, डौड, तेक्वान्दो, कराँते, उसु, हाइजम्प, लङ्जम्प, कबड्डी लगायत खेलका लागि जिल्लाको ८ ओटै पालिकाका ६११ विद्यार्थीले प्रतिश्पर्धा गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले जानकारी दिए। प्रतियोगिताबाट छनोट हुने खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगिताको समापन समारोह प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्दिरा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।