Advertisement Ad

स्वास्थ्य बिमामा पाचँथरः ८० प्रतिशत जनता बिमाको पहुँच बाहिर

Advertisement Ad

इवारा लिम्बू

१ चैत २०८०, पाँचथर। जिल्लाका ८० प्रतिशत जनता स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका पाइएको छ। स्वास्थ्य बिमाले उपचारमा ठूलो सहयोग पुग्ने भए पनि जिल्लाका जनसंख्याको ठूलो हिस्साले स्वास्थ्य बिमा नगरेको पाइएको हो।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ। यसका साथै राष्ट्रिय स्वास्थ्य बिमा नीतिले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार गरी स्वास्थ्य बिमाबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीति लिएको छ ।

तर, हालसम्म पनि पाँचथरमा कुल जनसंख्याको करीब ८० प्रतिशत मानिस स्वास्थ्य बिमाको पहुँच बाहिर छन्। हालसम्म जिल्लामा २२ हजार १ सय ७६ परिवार संख्या र ३१ हजार ९ सय सदस्य स्वास्थ्य बिमाको पहुँचमा छन् । जसमा बिमित पुरुषको संख्या १६ हजार ११ र बिमित महिलाको संख्या १५ हजार ८ सय ८९ रहेको स्वास्थ्य बिमा बोर्डको फिदिमस्थित कार्यालयको तथ्याङ्कले देखाएको छ।

पाँचथरमा १ नगरपालिका र ७ गाउँपालिका सहित ८ स्थानीय तह छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार पाँचथरको कूल जनसंख्या १ लाख ७२ हजार ४ सय छ। यो संख्यालाई हेर्ने हो भने जिल्लामा स्वास्थ्य बिमा नगराएकाको संख्या १ लाख ४० हजार ५ सय देखिन्छ। यो तथ्याङ्कले जिल्लामा कूल जनसंख्याको १८.५ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको देखिन्छ।

२०७२ चैत्र २५ गतेबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम पाँचथरमा वि.सं २०७७ माघ देखि लागु भएको हो। ३ वर्षको अवधीमा जिल्लाको फाल्गुनन्द गाउँपालिकाका २१ हजार २ साय ७९ जनसंख्यामध्ये ३ हजार ५ सय ३८ जना बिमाको पहँुचमा रहेका छन्। फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङका अनुसार त्यहाँका प्रत्येक वडा मार्फत् जेष्ठ नागरिकको हकमा र रातो कार्ड भएका अपाङ्गता भएकाहरुको हकमा निशुल्क स्वास्थ्य बिमाको प्रबन्ध गरिएको छ। पालिकाको आर्थिक बर्ष २०८९÷८० देखि नीति तथा कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रमलाई पनि राखि प्रत्येक वडामा बार्षिक ३० जनाका दरले स्वास्थ्य बिमामा आवद्ध गर्न प्रोत्साहन गरिरहेको उपाध्यक्ष नेम्बाङले बताए।

फिदिम नगरपालिका वडा नंं. ३ का वडा अअध्य नरेन्द्र गुरुङले स्वास्थ्य बिमा अभिकर्ता मार्फत् वडाका नागरिकहरुलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउदै गरेको बताए। ‘‘वडाबाट परामर्श दिन्छौं, कोही इच्छुक भए घरैमा गएर बिमा गराउदै आएका छौं।’’, उहाँले भन्नुभयो। फिदिम नगरपालिकामा रहेका ४८ हजार ४ सय ९५ जनसंख्यामा ११ हजार ७ सय ९४ जनाले मात्र स्वास्थ्य बिमा गरेका छन्।

त्यस्तै, याङवरक गाउँपालिकमाा रहेका १६ हजार ८ सय २१ जनसंख्यामध्ये स्वास्थ्य बिमा गराएका बिमितको संख्या २ हजार १ सय ७६ रहेको छ। हिलिहाङ गाउँपालिकाको कुल जनसंख्या १९ हजार ८५ मध्ये २ हजार ४ सय ९० जनाले स्वास्थ्य बिमा गराएका छन्। फालेलुङ गाउँपालिकाका २० हजार ३ सय ६१ जनसंख्या मध्ये २ हजार ६ सय ४४ ले स्वास्थ्य बिमा गराएका छन् भने कुम्मायक गाउँपालिकाका १२ हजार ७ सय ४६ जनामध्ये १ हजार ९ सय ३ जना बिमाको पहुँचमा छन्। तुम्वेवा गाउँपालिकाका ११ हजार १ सय ८९ जनसंख्यामध्ये स्वास्थ्य बिमा गराएकाको संख्या २ हजार ३ सय ७८ छ भने मिक्लाजुङ गाउँपालिकाका २१ हजार ६१ मध्ये ४ हजार ८ सय ७७ जनसंख्याले मात्र स्वास्थ्य बिमा गराएका छन्।

एक परिवारमा ५ जनाको १ बर्षको ३ हजार ५ सय रुपैंयाँ तिरेर अथवा त्यो भन्दा बढी संख्या थप हुन गए ७ सय रुपैंयाँ थप गर्दै स्वास्थ बिमामा आवद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सकिन्छ। स्वास्थ्य बिमा गरेको कार्ड लगेर उपचारमा गए १ लाख रुपैंयाँ सम्मको उपचारमा सरकारी अस्पतालमा ९० प्रतिशत र संस्थागत अस्पतालमा ८० प्रतिशत छुट पाइन्छ। त्यसैले यो निकै प्रभावकारी छ। सबै नागरिकले स्वास्थ्य बिमा गर्न आवश्यक रहेको स्वास्थ्य बिमा बोर्ड पाँचथरका प्रमुख सपना लिम्बुले बताइन्।

फालेलुङ गाउँपलिका वडा नं.८ का स्वास्थ्य शाखा प्रमुख केल्भिना चेम्जोङले स्वास्थ्य बिमाबाट थोरै खर्चले धेरै लाभ लिन सकिने बताइन्। कतिपय आर्थिक अभावका कारण बर्षौं रोग पालेर बस्नुपर्ने बाध्यता छ। स्वास्थ्य बिमाको सुबिधाले स्वास्थ्य सेवामा आमनागरिकलाई सहयोग पुग्ने उनले बताइन्।

पाँचथर जिल्लामा जिल्ला अस्पताल पाँचथर, रवि प्राथमिक स्वास्थ्य कार्यालय र गोपेटार प्राथमिक स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य बिमाकार्डबाट सेवा लिन सकिने प्रबन्ध छ।