Advertisement Ad

सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण र प्रवर्द्धन गरिँदै

Advertisement Ad

२३ जेठ २०८१, पाँचथर। पाँचथर सदरमुकाम फिदिम बजार नजिकै रहेको ऐतिहासिक महत्व बोकेको सुम्हात्लुङ गढीको संरक्षणमा सरोकारवाला निकायको चासो बढेको छ । पर्याप्त प्रचार–प्रसार र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको सुम्हात्लुङ गढीको संरक्षणमा पछिल्लो समय चासो बढेको हो ।

अहिले पुरातात्विक विभागको २० लाख रुपैंयाँ लागनीमा सुम्हात्लुङ परिषरमा पुरातात्विक शैलीको घेराबाराको काम भइरहेको छ । कङ्क्रिडको प्रयोग नगरी चट्टानलाई काटेर मौलिक शैलीमा घेराबारा निर्माण भइरहेको हो । यसअघि पुरानो वाल भत्किएपछि फिदिम नगरपालिकाको सहयोगमा बिना कङ्क्रिडको वाल लगाइएको थियो । नगरपालिकाकै लगानीमा इट्टा बिछ्याउने र याक्थुङ (लिम्बू) जातीको मौलिक व्याज सिलामसाक्मा जडित रेलिङ निर्माण गरिएको फिदिम नगरपालिका–४ का वडा अध्यक्ष उपेन्द्र लाओतीले बताए ।

सुम्हात्लुङ परिषरमा स्थानीय तथा सरोकारवालाहरुको सामूहिक प्रयत्नबाट त्रिकोणात्मक सुम्हात्लुङ स्तम्भ निर्माण गरिएको छ । उक्त स्तम्भमा याक्थुङ (लिम्बू), नेपाली र अङ्ग्रेजी, तीन भाषामा सुम्हात्लुङ गढीको ऐतिहासिकता र मुन्धुमी महत्वबारे संक्षिप्त परिचय लिपीबद्ध गरिएको छ । यसले सुम्हात्लुङ पुग्ने देशी, विदेशी आगन्तुकहरुलाई यसको ऐतिहासिकता र महत्व बुझ्न सहयोग पुग्ने स्थानीय एवंम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य हरि चन्द्र लाओतीले बताए ।

स्थानीय सरकार र स्थानीय सरोकारवालाहरुको पहलमा फिदिम बजारको अस्पताल चोक र चारबरेस्थित क्याम्पसमोड हुँदै सुम्हात्लुङ परिषर पुग्ने सडक पक्कि बनिसकेका छन् । आहालगैरीबाट गढी उकालो सुम्हात्लुङ परिषरसम्म पुग्ने सिढीमार्ग बनेको छ ।

फिदिम नगरपालिका–४ मा अवस्थित यो ऐतिहासिक डाँडामा तीन वटा ठुल्डूला आँपका बोट सँगै देवस्थल रहेको छ । सुम्हात्लुङको स्थापना इशाको छैठौं, सातौं शताब्दीताका भएको इमानसिं चेम्जोङ लगायतका इतिहासकारहरुले उल्लेख गरेका छन् । याक्थुङ (लिम्बू) जातिले गर्ने विभिन्न अनुष्ठानहरुमा समेत वर्णन गरिने यस स्थललाई स्थानीयले मुन्धुमी भाषामा सुम्जिरी सुम्हात्लुङ आम्बेपज? भन्ने गर्दछन् । यस क्षेत्रलाई मुन्धुमी अध्ययनको केन्द्रको रुपमा विकास गर्दा उपयुक्त हुने पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मधुराज केरुङ बताउछन् ।

सुम्हात्लुङ स्थापनाको कथा
इतिहासकारहरुका अनुसार इशाको छैठौ, सातौं शताब्दीताका हालको पूर्वी नेपालमा फेदाप राज्य अस्तित्वमा थियो । जहाँ येत्हाङ (आठ राजा)हरुले साशनसत्ता सञ्चालन गर्थे । समयक्रमसँगै जनताप्रति अनुदार बन्दै गएका उनै येत्हाङहरु विरुद्ध युद्ध छेंड्न दश लिम्बू सरदारहरु पहिलोपल्ट यहिं सुम्हात्लुङ गढीमा बैठक बसेका थिए । युद्ध लड्ने निर्णय पारित गरेका उनीहरुले तीन वटा आँपको रुख र ढुङ्गा गाडि तीन वटा चुल्हो बनाए । देवस्थल स्थापना गरी वल शक्ति मागे । विजय प्राप्त नभएसम्म युद्धस्थलबाट कोहि पनि पछि नहट्ने कसम खाए । अन्ततः दश सरदारका टोलीसँग येत्हाङहरु पराजीत भए । युद्ध जितेपछि दश सरदारहरु पुनः यहिं डाँडामा बैठक बसि धनुकाण हानेर विजय प्राप्त गरेको देशलाई लिम्बुवान (लि? आबुआङ् मिङ् वान्दु) नामकरण गरे । जसलाई दश वटा राज्यमा विभाजन गरी एक–एक सरदारका सन्तानले राज्य सञ्चालन गर्ने निर्णय पारित गरे । यसरी स्थापना भएको सुम्हात्लुङ गढीलाई लिम्बुवान क्षेत्रकै सर्वाधिक महत्वको स्थलको रुपमा लिइन्छ ।

प्रचार–प्रसारका लागि मेला र म्याराथन
केहि बर्षदेखि सुम्हात्लुङ गढीको प्रचार–प्रसारका लागि हरेक बर्ष चासोक तङनाम (उधौली पर्व)को अवशर पारेर सुम्हात्लुङ परिषरमा मेला र सुम्हात्लुङ मिनी म्याराथन आयोजना गरिँदै आएको छ । यसले सुम्हात्लुङ गढीको प्रचार–प्रसारमा सहयोग पुगेको सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवंम् विकास प्रतिष्ठानका अध्यक्ष दिल बहादुर लाओतीले बताए । स्थानीय मौलिक कला, सँस्कृतिको प्रदर्शनी, रैथाने परिकारहरुको स्टल सहित लाग्ने मेला तथा सोहि अवशरमा आयोजना हुने मिनी म्याराथनलाई बर्षेनी निरन्तरता दिइने उनले बताए ।

स्थानीय सरकार, सरोकारवाला निकाय र प्रतिष्ठानको पहलमा पछिल्लो समय सुम्हात्लुङ गढीको संरक्षण र प्रबद्र्धनको कार्यलाई तिव्रता दिइएको पनि प्रतिष्ठानका अध्यक्ष लाओतीको भनाई छ ।