Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द गोल्डकपः चर्च ब्वाइज युनाइटेड उपाधि नजिक

सन्देश सुब्बा

१२ पुस २०८१, पाँचथर। ‘ए’ डिविजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लव काठमाडौं फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

फिदिम खेलमैदानमा शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवलाई ३-१ गोलअन्तरले पराजीत गर्दै चर्च ब्वाइज फाइनल प्रवेश गर्यो । खेलको ४३ औं मिनेटमा दिनेश शेर्माको गोलबाट फिदिमले अग्रता बनाए पनि पहिलो हाफको इन्जुरी समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ६२ औं मिनेटमा विदेशी खेलाडी अर्माण्ड बिडोमले टिमको लागि दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई २-१ को अग्रता दिलाए । अर्का विदेशी खेलाडी फोफोना अबायोमीले ८४ औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई ३-१ को जीत दिलाए । खेलको म्यान अफ् दि म्याच चर्च ब्वाइजका फोफोना ओबायोमी बने । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे ।

अब चर्च ब्वाइजले शनिबार मच्छिन्द्र फुटवल क्लव र न्यू रोड टिम (एनआरटी) बीच हुने प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलको बिजेतासँग पुस १५ गते उपाधिका लागि खेल्नुपर्नेछ । प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए ।