Advertisement Ad

Advertisement Ad

साहित्यकार धरावासी र कवि स्मृति अमर नेम्बाङ साहित्य सम्मानबाट सम्मानित

२६ माघ २०८१, पाँचथर। मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी र युवा कवि स्वप्निल स्मृतिलाई यस वर्षको अमर नेम्बाङ साहित्य सम्मान प्रदान गरिएको छ।

शनिबार पाँचथरको फिदिमस्थित मनश्वी होटलको सभहलमा अमर नेम्बाङ लिम्बूको छैठौं स्मृति दिवशको अवसरमा अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा साहित्यकार धरावासी र कवि स्मृतिलाई सम्मानपत्र सहित जनही नगद ५० हजार रुपैंयाँ राशीको सम्मान प्रदान गरिएको हो।

अमर नेम्बाङ साहित्य सम्मानबाट यसअघि २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा, २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७९ मा श्रवण मुकारुङ र प्रेम ओझा त्यस्तै २०८० मा बिमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित भइसकेका छन्।

कार्यक्रममा प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिका–५ फाक्तेप कोल्बुङस्थित जनकल्याण मावि, कक्षा–११ मा अध्ययनरत छात्रा अञ्जना चेम्जोङलाई नगद १५ हजार रुपैंयाँ छात्रवृत्ति प्रदान गर्यो। त्यस्तै गत बर्खामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता बनेका जिल्लाका १६ परिवार र फालेलुङ गाउँपालिकामा वेवारिसे वम विष्फोट हुँदा ज्यान गुमाएका र घाइते भएका बालबालिकाको परिवारलाई जनही दश हजार रुपैंयाँका दरले राहत प्रदान गर्यो। प्रतिष्ठानले बाढीपहिरोको समयमा उद्धारकार्य र मानवीय सहायतामा सक्रियतापूर्वक काम गर्ने हाम्रो सहारा पाँचथरलाई नगद ५० हजार रुपैंयाँ सहित सम्मान गर्यो।

पर्यावरणीय साहित्य लेखनका अभियन्ता अमर नेम्बाङ फाल्गुनन्द गाउँपालिका पाँचथरका पूर्व जननिर्वाचित अध्यक्ष एवम् कवि, साहित्यकार हुन्। उनको ‘सम्झनाका तरेलीहरु’ (संस्मरण), ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ (कविता कृति) प्रकाशित छन्। नेम्बाङ राजनीतिज्ञ, समाजसेवी एवम् पाश्चात्य साहित्यका व्याख्याता थिए।

वि.सं.१९९८ साउन २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवा गाउँमा जन्मिएका अमर नेम्बाङको वि.सं.२०७५ माघ २६ गते फाल्गुनन्द गाउँपालिकाको जननिर्वाचित अध्यक्ष रहेकै समयमा निधन भएको थियो। (तस्बिरः दुर्गा खनाल)