३० माघ २०८१, पाँचथर। फिदिम–६ सिवामा फागुन २ गतेदेखि सुरु हुने अर्थवाज आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक सिवा साहित्यिक, साँस्कृतिक तथा खेलकुद आयोजक समितिले जारी गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा ‘पोल–ए’ मा रहेका पाँचथरको मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिकाबीच प्रतिश्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन खेल फागुन २ गते बिहान ११ बजेदेखि सुरु हुनेछ।
खेल तालिका अनुसार प्रतियोगिताको दोस्रो खेल सोही दिन २ बजेदेखि सुरु हुनेछ। उक्त खेलमा ‘पोल–बी’ मा रहेका झापाको शिवसताक्षी नगरपालिका र आयोजक फिदिम नगरपालिका भिंडेन्छन्। प्रतियोगिताको तेस्रो खेलमा फागुन ३ गते बिहान १० बजे ‘पोल–सी’ मा रहेका झापाको दमक नगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिकाबीच प्रपिश्पर्धा हुनेछ।
फागुन ३ गते मध्यान्ह १२ बजे प्रतियोगिताको चौंथो खेलमा ‘पोल–डी’ मा रहेका मोरङको बेलबारी नगरपालिका र ताप्लेजुङको सिदिङवा गाउँपालिकाबीच प्रतिश्पर्धा हुनेछ। फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैंयाँ, ट्रफि, मेडल, प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ७० हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने फिदिम–६ सिवाका वडा सदस्य तथा प्रतियोगिताको खेल संयोजक तेजहाङ तुम्रोकले बताए।
सिवा कला, साहित्य तथा साँस्कृतिक महोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। महोत्सवमा मौलिक संस्कृति प्रबद्र्धन गर्ने विविध साँस्कृतिक कार्यक्रम र बहूभाषिक कविता गोष्ठि लगायतका कार्यक्रम हुने फिदिम–६ सिवाका वडाअध्यक्ष तथा महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष विपन तुम्रोकले बताए।

