क्रिस ढुङगाना
१ साउन २०८२, पाँचथर। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१३ टिम्बुरेमा बिहीबार बिहान पिकअप सवारी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
विर्तामोडबाट डिजेल, ब्राण्ड दाना र सिमेन्ट लिएर लुङरुपातर्फ जाँदै गरेको पिकअप गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनामा गाडी चालक भवानी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको छ भने गाडीका मालिक राम सुवेदीको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, अर्को सवार आयूस लिम्बूको शरीरमा आन्तरिक चोट देखिएको छ।
घाइतेहरूको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनास्थलमा अस्थायी प्रहरी चौकी जल्पाबाट प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याइएको थियो। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
