१८ साउन २०८२, पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँका दुई नाबालक बिहीबारदेखि सम्पर्कबिहीन भएका छन्।
बिहीबार बिहान विद्यालय हिंडेका बिर्ख बहादुर राईका नौ वर्षीय छोरा शिशिर राई र छ वर्षीया छोरी नानुमा राई विद्यालय नपुगी सम्पर्कबिहीन भएका हुन्। छिमेकी ज्योति बेघा लिम्बूका अनुसार उनीहरु स्थानीय पूर्ण आधारभूत विद्यालयमा क्रमशः कक्षा चार र कक्षा एकमा अध्ययनरत थिए।
घरबाट विद्यालय पुग्न करीब २५ मिनेट उकालो हिंड्नुपर्छ। बिहान विद्यालय हिंडेका उनीहरु विद्यालय नै नपुगी सम्पर्कबिहीन बनेका हुन्। बाटोमा कुनै सम्भावित अप्रिय घटना घट्न सक्ने ठूलो खोला पनि छैन। अचानक नानीहरु सम्पर्कबिहीन बनेपछि परिवारमा चिन्ता थपिएको छ।
प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि उनीहरु हालः सम्म फेला नपरेका स्थानीयले बताए। याङवरक गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै हराइरहेका बालबालिकाको खोजी कार्यमा सहयोग गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ।