१८ साउन २०८२, काठमाडौं। याक्थुङ मुन्चइत् चोक् सयङको प्रकाशन ‘मुन्चइत्’ स्मारिकाको शनिबार काठमाडौंमा बिमोचन गरिएको छ।
काठमाडौं चुम्लुङहिममा आयोजित कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा लगायत अतिथिहरुले स्मारिकाको बिमोचन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि सुब्बा सँगै किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङबुङ, मुन्धुम अध्येता येहाङ लाओती, नेपाल आदिवासी जनजाति चलचित्र महासंघ, संघीय परिषद् उपाध्यक्ष गुन्जा चौधरी, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर, किरात राई चलचित्रकर्मी संघका महासचिव बबिन राई, मगर चलचित्र कर्मी संघका महासचिव एलबी मगर, आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेश अध्यक्ष रेशम तामाङ, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघ अध्यक्ष मनोज नेवा, नेपाली सेनाका पूर्व उपरथी होमकुमार लाओती, होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल लगायतको सहभागिता रहेको थियो।
स्मारिकामा याक्थुङ मुन्चइत् चोक् सयङको स्थापनाकालदेखि हालःसम्मका गतिविधि साथै प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम, वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा, समालोचक गुरुङ सुशान्तसँगै नीलकमल, सागर केरुङ, कपिल पराजुली, सूर्यप्रकाश चेम्जोङ र सन्देश सुब्बाका लेख समावेश गरिएको छ। नेवा–ताम्सालिङ कार्य समितिको आर्थिक सहयोगमा याक्थुङ मुन्चइत् चोक् सयङ, संघीय कार्य समितिले प्रकाशन गरेको स्मारिकाको सम्पादन सागर केरुङ, इन्दु फोम्बो, सन्देश सुब्बा, साङसेन पन्धाक र सीता राई नेम्बाङले गरेका छन्। स्मारिका २१६ पृष्ठको रहेको छ।
याक्थुङ मुन्चइत् चोक् सयङ् संघीय कार्य समिति, नेवा–ताम्सालिङ समितिले संयुक्त रुपमा आयोजना गरेको बिमोचन समारोह सयङका संघीय अध्यक्ष सागर केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।