२१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ ।
हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक ल्याएर जडान सुरु गरिएको सडक डिभिजन कार्यलय इलामले जनाएको छ । डिभिजनका एक प्राविधिकका अनुसार अहिले मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको र प्राविधिक समस्या नआए करिव एक महिना भित्रै ब्रिजबाट यातायात सञ्चालन हुनेछ ।
हेवाँखोलामा जेठ–३१ गते जडानको अन्तिम चरणमा पुगेर बेलिब्रिज भाँचिएको थियो । ब्रिज भाँचिदा तिन जनाको मृत्यु र तीन जना घाइते भएका थिए । ७० मिटर लामो मोडुलर ब्रिज पुनः जडान गर्न यसपटक जडान गर्ने सबै प्राविधिक भारतीय छन् ।
२०८० साल असार–२ गते हेवा खोलाको पुल बाढीले बगाएपछि राखिएको बेलिब्रिज पनि २०८१ साल असोजमा बगाएको थियो । अहिले हेवाँखोलामा अस्थायी डाईसर्वसन मार्फत यातायात सञ्चालन भइरहेको छ ।

