Advertisement Ad

Advertisement Ad

गुल्जार बन्दै तिजोक (भिडियो रिपोर्ट)

२४ साउन २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ अम्लाबुङ (नवमीडाँडा) र फिदिम नगरपालिका–६ सिवाको सिमावर्ती क्षेत्रमा अवस्थित सुन्दर पहाडी चुचुरो तिजोक गुल्जार बन्न थालेको छ ।

समुन्द्री सतहबाट २१ सय ५० मिटर उचाईमा रहेको तिजोक पछिल्लो समय आन्तरिक पर्यटकको आगमनले गुल्जार हुन थालेको हो । यहाँको प्राकृतिक सुन्दरतामा रमाउन हरेक दिन आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ । सुन्दर सल्लाघारी, खेलिरहुँ लाग्ने नागी चउर, कञ्चन र स्वच्छ परिवेश, वारिपारिका मनमोहक दृश्य अनि पर्यटक आकर्षित गर्न निर्माण गरिएका र निर्माण भइरहेका पर्यटकीय संरचनाहरुले तिजोकलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरिरहेको छ ।

स्थानीय युवाहरुको सक्रियतामा पाँच महिना अघि तिजोक पर्यटन प्रबद्र्धन विकास क्षेत्र नामक संस्था स्थापना गरी प्रचार–प्रसार सँगै पर्यटक आकर्षित गर्न विभिन्न संरचना निर्माणको काम थालिएसँगै तिजोकले मुहार फेर्दै गएको तिजोक पर्यटन प्रबद्र्धन विकास क्षेत्रका अध्यक्ष राज दिलाञ्जलीको भनाई छ ।

अहिले तिजोकमा प्रवेश द्वार, लभ सिट, ट्रस कटेज, फलामे फलैंचा, झुला पिङ् जस्ता संरचना निर्माण गरिएका छन् । मगर संस्कृतिसँग सम्बन्धीत खुर्पेटो र तामाङ संस्कृतिसँग सम्बन्धीत डम्फूको स्तम्भ निर्माण गरिएका छन् । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक बाजा च्याब्रुङ र याक्थुङ (लिम्बू) जातिलाई चिनाउने प्रतीक सिलामसाक्माको स्तम्भ निर्माणाधिन अवस्थामा छन् ।

त्यस्तै किरात राई जातिको संस्कृतिसँग जोडिएको चिण्डो र हिन्दु संस्कृतिसँग सम्बन्धीत शंखको स्तम्भ समेत निर्माण गर्ने सोच बनाइएको छ । यसरी तिजोकलाई बहूसाँस्कृतिक पार्कको रुपमा विकास गर्ने योजना रहेको तिजोक पर्यटन प्रबद्र्धन विकास क्षेत्रका अध्यक्ष राज दिलाञ्जलीले बताए । यी संरचना निर्माण गर्न हालः सम्ममा २२ लाख रुपैंयाँभन्दा बढी रकम खर्च भइसकेको उनले बताए ।

यो सुन्दर पर्यटकीयस्थलमा पुग्न तपाईं पाँचथर सदरमुकाम फिदिमदेखि साम्दिन घुम्ति–मायालुमोड–चोकमागु–सिवा–नवमीडाँडा पक्कि सडक प्रयोग गरेर नवमीडाँडा बजार पुगि त्यहाँबाट पात्ले भञ्ज्याङ जाने कच्चि सडक पछ्याउनुपर्छ । नवमीडाँडा बजार नजिकैको आहाले भञ्ज्याङबाट साँढे तीन किलोमिटर दूरी पार गरेपछि तिजोक पुगिन्छ । त्यस्तै पात्लेभञ्ज्याङ बजारबाट पनि ५÷७ मिनेटको मोटरसाइकल यात्रामा तिजोक पुगिन्छ ।

पानी र शौचालयको अभाव रहेको तिजोकमा पर्यटकको सुबिधालाई मध्यनजर गर्दै निकट भविष्यमै तीनको पनि व्यवस्थापन गरिने तिजोक पर्यटन प्रबद्र्धन विकास क्षेत्रले जनाएको छ ।

भिडियोः