– शकुन्तला जोशी
बग्दै जाँदा उनीहरुले भने–
‘यो धरती हाम्रो पनि हो
सिमानाको पर्खालभित्र घेरिएको त्यो माटो हाम्रो पनि हो’
उहिले उहिले करोडौं वर्षअघि
तातो न तातो पृथ्वीको गोला
उम्लिरहेको समुन्द्र
रापिलो ज्वारभाटा
आगोको उल्का वर्षा
सप्पै सप्पै खेपेर जुगजुगसम्म
आफ्नै पसिना सिंचिए
चिस्याए उनीरुले र मान्छे बस्न योग्य बन्यो यो धरा
त्यसपछि उम्रिए विष र अमृत
जन्मियो पाप र धर्म
कोरियो सिमाना र विभाजित गरिए उनीहरु उभिएको माटो
प्रतिबन्धित भए आफैंले आवाद गरेको जमिनमा
मेसोपोटामियाको सभ्यतादेखि अफ्रिकाको दासत्वसम्म
गंगादेखि टिग्रिस नदीसम्म
बाग्मतीदेखि नाइल नदीसम्म
उसरी नै पसिना बगाएका हुन् उनीहरुले
फलामे चिसा साङ्लाहरु लतार्दै
रगतले रंगाएका हुन् सभ्यताका निला नदीहरुलाई
किनिएका हुन्, बेचिएका हुन्
वस्तुभाउ जसरी फार्म हाउसमा बाँधिएका हुन्
सभ्यताको नाममा आफ्नो रगत र वीर्य दिएर
नयाँ दासहरु जन्माइदिएका हुन्
आफ्नै रगतमा कुल्चिएर
उनीहरुले तिमीहरुको निम्ति
सभ्यता निर्माण गरिदिएका हुन्
इतिहासको कथा लेखिदिएका हुन्
तिनै मानिसहरुले
गाउन खोज्दा आफ्नै वनमा खुसीको गीत
हिँड्न खोज्दा आफ्नै बाटोमा निस्फिक्री
जब लखेटियो उनीहरुलाई मूलभूमीबाट
क्यारेबियन सागरमा
बग्दै जाँदा उनीहरुले भने–
‘यो धरती हाम्रो पनि हो
सिमानाको पर्खालभित्र घेरिएको त्यो माटो हाम्रो पनि हो’
उनीहरुले बचाएको बहुमुल्य खानीमा
जब आँखा लगायौ
उनीहरुले जोगाएको तेल कुवामा
जब हात लगायौ
उनीहरुले जोगाएको अमेजनमा जब आगो लगायौ
रिसाए उनीहरु
चिच्याए तिम्रो सभ्यतामाथि
– खसाल्यौ मिसाइल
तिनका नानीहरु खेलिरहेको आँगनमा
– चलायौ डोजर उनीहरुको
आदिम उत्सव चलिरहेको बस्तीमा
तब लखेटिए ती आदिवासी श्रमिकहरु
कोही गंगा किनाराबाट, कोही नाइलको फेरोबाट
लखेटिदै लखेटिदै भाग्दै भाग्दै
उनीहरु चढेका थिए, त्यो पुरानो डुंगामा
– खोज्दै आफ्ना केटाकेटीका लागि एक सुरक्षित आँगन
– आफ्ना प्रेमी–प्रेमीकाका लागि एक सुरक्षित भविष्य
– आफ्ना वृद्ध बुबा–आमाका लागि एक न्यानो छानो
– आफ्नो आदिम माटो सम्झेर रोइरहेका उनीहरुको
आँसुले भरिएर जब डुब्यो पुरानो डुंगा
बग्दै जाँदा उनीहरुले भने–
‘यो धरती हाम्रो पनि हो
सिमानाको पर्खालभित्र घेरिएको त्यो माटो हाम्रो पनि हो’
घण्टी फूल जसरी मृत्युमा पनि मुस्कुराइरहेका निग्रो आप्रवासीहरु
रातो गुलाब जसरी समुन्द्रको अन्तिम छालले
किनारामा हुत्याइएका पाकिस्तानी वा नेपाली आप्रवासीहरु
तिनका सबभन्दा प्रिय केटाकेटीका चप्पलसँगै
निर्जिव पल्टिनु अघि किनारामा
बग्दै जाँदा उनीहरुले भने–
‘यो धरती हाम्रो पनि हो
सिमानाको पर्खालभित्र घेरिएको त्यो माटो हाम्रो पनि हो’
हो, यो बाटो उनीहरुको हो
जसले खने र खनिरहेका छन्
निरन्तर जुगजुगदेखि– मानिस हिड्ने अन्तिम गोहो
यो धरती उनीहरुको हो
जसले छरे शितलता चिस्याउन सूर्य–पिण्डलाई,
बनाए मानिस बस्न लायक पृथ्वी
यो माटो उनीहरुको हो
जसले उर्बर बनाए चिरेर आफ्नै छाति
र, उभ्याए धरतीभरी सभ्यताका अनगिन्ती स्मारक
तिमी को हौ उनीहरुकै बाटोमा उनीहरुलाई छेक्ने ?
तिमी को हौ उनीहरुकै मूल भुमीमा उनीहरुलाई नै उभिन नदिने ?
भुमध्य सागरमा बग्ने त बगिहाले
बाँचेकाहरु पनि छन्
कोलम्बियाका जङ्गलमा मर्ने त मरिहाले
बाँचेर निस्किनेहरु पनि छन्
जो बाँचे र भोलि पनि बाँचिरहने छन्
जो मरेर पनि उठे र भोलि पनि उठिरहने छन्
सृष्टिमा प्रलय आउने गरी
फेरि पनि उनीहरु चिच्याए !
बग्दै जाँदा उनीहरुले भने–
‘यो धरती हाम्रो पनि हो
सिमानाको पर्खालभित्र घेरिएको त्यो माटो हाम्रो पनि हो ।’०
मेसोपोटामियाको सभ्यता– ईशापूर्व ५००० वर्षअघि टिग्रिस र युफ्रेटस नदीको बिचमा विकास भएको एउटा सभ्यता हो । मेसोपोटामियाको सभ्यता हालको पूर्वी सिरियाको केही भाग र इराकमा पर्छ । प्राचीन युनानी भाषामा दुई नदिको बिच भन्ने अर्थ नै मेसोपोटामिया हो ।
नाइल नदी– भुमध्य सागरबाट निस्रित नाइल नदी संसारकै लामो र उत्तर बग्ने नदीमा पर्छ, अफ्रिकी महादेशमा अवस्थित यो नदी इथियोपिया, इजिप्ट र सुडान भएर बग्छ ।
घण्टी फूल– सुडानको राष्ट्रिय फूल