– क्षितिज केरुङ
२४ साउन २०८२, दक्षिण कोरिया। म अहिले दक्षिण कोरियामा छु । रोजगारीको सिलसिलामा यहाँ आइपुगेको छ महिना पुग्न लाग्यो । मेरो मन एकतमासले अन्यमनस्क भइरहन्छ । दिउँसोभरी मेसिन बराबर काममा खटिरहनुपर्छ । साँझ कोठा फर्किएपछि हतार–हतार खाना खाएर विस्तारामा पल्टिन्छु । तर पटक्कै निन्द्रा लाग्दैन । यो मन त्यसै–त्यसै वेचैन भइरहन्छ । म जस्तो उर्जावान युवाहरु कसरी यो विरानो देशमा आइपुगियो ? आफ्ना गाउँठाउँ र माटोलाई छाडेर परदेशमा आउन किन विवश भयौं ? के हामी साँच्चै पलायन भएकै हो त ? जस्ता प्रश्नहरुले पलपल घोचिरन्छ मुटुमा । रात अबेरसम्म निद्रा हराम हुन्छ । सोच्दा–सोच्दै कुन बेला निद्रादेवीको काखमा लुट्पुटिन्छु आफैलाई थाहा हुँदैन । रात ढलेकै छ, दिन ढल्किएकै छ, पृथ्वी घुमिरहेकै छ । म मेसिन बराबर दिनहुँ काममा खटिरहेकै छु । पसिनाको हेंवा–फेमे अटुट बगाइरहेकै छु, यो समुन्द्रपारीको विरानो देशमा ।
म यसरी विरानो देशमा मजदुरी गर्न आउनु मेरो कुनै रहर थिएन तर बाध्यता पक्कै थियो । मेरो जन्म कुनै धनाढ्य परिवारमा भएको होइन । मेरा बाबु बाजेहरु कुनै अभिजात्य कुलका होइनन् । विपन्न वर्गका हुनाले बाजेले विजनबारीमा सुन्तलाको भरिया भएर, भारतको सिक्किममा सुँगुर पाठा व्यापार गरेर त कहिँले खरिते भएर बाबु पुस्तालाई हुर्काउनुभएछ । बाबु पुस्ताहरु काठ काटेर, भारी बोकेर, अरुको घरमा खेताला–गोठाला बसेर आफ्नो जीवन गुजारेछन् । उनीहरुका दुःख दर्दका कथाहरु सुन्दा कम्ति दुःख लागेर आउँदैन । कम्ति पीर लागेर आउँदैन, आँशु त्यसै–त्यसै छचल्किन खोज्छ ।
म जन्मेको ठाउँ पान्थर जिल्लाको याङनाम हो । म जन्मिनुभन्दा अगाडिदेखि नै बुबा र आमाको सम्बन्धमा तिक्तता थिएछ । यो कुरा मैले पछि मात्रै थाहा पाएँ । म सानो छँदै बुबाले कान्छी आमा लिएर झापातिर लागेछन् । त्यसपछि म जिउँदो टुहुरो भएँ । आजपर्यन्त पनि बुबा कस्तो हुन्छ ? बुबाको माया कस्तो हुन्छ ? मलाई केही पनि थाहा छैन । अहिलेसम्म मलाई बुबाको राम्रो सम्झना पनि छैन । त्यसैले बुबाप्रति म केही बताउन चाहन्न । म यहाँसम्म आइपुग्नमा मेरा मावली र छ्यामाहरुको साथ सहयोग र काका काकीहरुको शिक्षा, दिक्षा र उपदेश बिना असम्भव नै थियो । म यो गुण कहिल्यै बिर्सन सक्दिन, यो जुनिमा त के सातौँ जुनिमा पनि चुक्ता गर्न सक्दिन ।
म अहिले विकसित मुलुक कोरियामा छु । मात्र एउटा मजदुरको रुपमा । मेरो परिचय नै नेपाली मजदुर हो । यहाँ भव्य महलहरु छन् । सुत्ने कोठा व्यापक छ । शिक्षा, स्वास्थ्य, रोजगारी र यातायातको कुनै कमी छैन । म बस्ने कोठा पनि रङ्गिचङ्गी र साजसज्जायुक्त छ । म सुत्ने खाट एकदम भव्य छ । मीठो निद्रा देख्न चाहे पनि सकिरहेको छैन । मलाई महङ्गी बिछ्यौनाहरुले बिजाइरहेको छ । यस्तो सुन्दर र भव्य कोठामा सुत्न खोजे पनि आँखाभरि गाउँको झलझली सम्झना आउँछ । गाउँमा हाम्रो सानो घर छ, एकतले । वरिपरी टिनले बारिएको छ । पूराना च्यातिएका गुन्द्रिहरु छन् । ओढ्ने ओछ्याउने राम्रो कपडाहरु छैन । चैत मासको गर्मीमा पूरै बाफिएर सुत्नुपर्छ । पुस माघको ठिहिर्याउने जाडोेमा लुकलुक काम्दै सुत्नुपर्छ । कहिले चिसो लागेर हप्तौंसम्म पेट दुखेर हैरान भइन्छ । प्रायःजसो पखाला लागिरहन्छ । घर डाँडामा हुनाले चैत बैशाखको समयमा आँधीले तर्साइरहन्छ । पूरै घर उडाएर लैजाला जस्तो हुन्छ । म आँधी आएको रात कहिले पनि ढुक्कले निदाइन् । जब आँधी आउन थाल्थ्यो तब घरका छाना र ढोकाहरु पूरै हल्लिन थाल्थे । म डरले थुरथुर काम्थे र मनभरी सोच्थेँ– कुनबेला घरको छानो उडाएर माथि सेसेलुङ र आकाशे डाँडामा पु¥याउने हो ! कुनबेला हामी आमा छोरालाई हुत्याएर तल सेपेनी र सापनुवातिर उडाएर लाने हो ! भन्ने चिन्ताले मेरो मुटु कामिरहन्थ्यो । म डरले मनमनै रोइरहन्थेँ ।
म हुर्केको गाउँ याङ्नामको वरक्तेम्बे खलंगा हो । यो गाउँ ठूलो पनि छैन र सानो पनि है’न । यहाँका मानिस धेरै धनि पनि छैनन् र त्यति गरीब पनि छैनन् । तर मेरो परिवार अत्यन्तै दुःखद थियो । यसको प्रमख कारण हो– मेरो बुबाले कान्छी आमा लिएर झापातिर हराउनु र घरमा कुनै रेखदेख नगर्नु । त्यसैले मेरो वाल्यकाल पूरै दुःखको समुन्द्रमा पौडिएर नै बित्यो । अब मेरो दुःखको कथा यहीँ टुङ्ग्याउँछु । कुनै संस्मरणमा लेखौँला । किनकि यो कथा यतिमै सकिदैन । तमोर खोलाभन्दा लामो छ ।
अब एकछिन वैदेशिक रोजगारीको कुरा गरौँ । अहिले नेपाली युवाहरु अमेरिका, जापान, हङकङ, पोर्चुगल, रोमनीया, कोरिया, कतार, मलेसिया र साउदी अरेबियामा छन् । उनीहरु सबै रहरले त्यहाँ पुगेका होइनन् । प्रायःजसो बाध्यताले गर्दा नै विदेशिएका हुन् । म पनि कोरियामा श्र्रम गर्ने युवाहरुको एक प्रतिनिधि पात्र हुँ । श्रम भनेको नै कुनै वस्तुको उत्पादन तथा निर्माणका लागि वा जीवन निर्वाहका निम्ति शारीरिक, बौद्धिक शक्ति लगाएर गरिने काम, मिहेनत भन्ने अर्थ लाग्छ । श्रममलाई दुई प्रकारले वर्गीकरण गर्न सकिन्छः १.ह्वाइट कलर जव् र २.व्लू कलर जव् । ह्वाइट कलर जवलाई पेशा र व्लू कलर जबलाई व्यवसाय पनि भन्न सकिन्छ । ह्वाइट कलर जव् मानसिक कर्म र व्लू कलर जव् शारीरिक कर्मसँग सम्बन्धित हुन्छ । म अहिले पूरै व्लू कलर जवमा नै कर्म गरिरहेको छु । व्लू कलर जवको पनि बेग्लै आनन्द हुँदोरहेछ । निःशुल्कमा प्राप्त गरेको वस्तुभन्दा श्रम गरेर, पसिनाको खोला बगाएर प्राप्त गरेको वस्तु लाखौँ गुणा मूल्यवान् हुँदोरहेछ । सायद त्यसैले होला कम्युनिष्टहरुले मानवीय श्रममा जोड दिएका छन् । आदिकवि भानुभक्त आचार्य थेबाले पनि आफ्नो प्रश्नोत्तर कवितामा लेखेका छन्ः
ज्यूँदै मर्याको भनि नाम् त कस्को ।
उद्यम् विना बित्छ काल जस्को ।।
म अहिले यहीँ कविताको बारबार सम्झना गरिरहन्छु । हामी नेपालीहरु प्रायः श्रम गर्दैनौँ । बसिबसि चौरासी व्यञ्जनको खान्की खोज्छौँ । हरेक छाक मिठोमसिनो खोज्छौँ । दिनभरी बेप्वाँकमा समय फाल्छौँ । उत्पानदमुलक कार्य गर्दैनौँ । कुनै काम नै छैन, रोजगारी नै छैन भनेर सरकारलाई सत्तो सराप गर्छौं । नौजवान युवाहरु दिउँसोभरी लुडो खेल्छौँ । क्यारेमबोर्डको गोटीमा अल्झिएर बस्छौँ । यतिले पनि चित्त बुझेन भने तास र जुवामा नारिन पुग्छौँ । सायद, हाम्रो आफ्नो कमजोरी र गरीबीको कारण यो पनि हुन सक्छ । अन्य समृद्ध मुलुकहरुमा राज्यको नीति पनि उद्धार छ र हरेक मानिसहरु श्रम गर्छन् । तर हाम्रो मुलुक नेपालमा खाली केही हुँदैन भन्ने निराशाको गीत गाएर समय फाल्छौँ । हाम्रो सरकार त खतम छ छ, तर हामी झन् महाखतम भएर बसेका छौँ । अब यस्तो पुङ्बाङ्गे सोचबाट माथि उठ्न जरुर छ । यहाँ कोरियाको अवस्था हेरेर ममा श्रमप्रति सम्मान जाग्छ ।
वैदेशिक रोजगारको बारेमा त्यति ठूलो आपत्ति छैन मेरो । हाम्रो देश नेपाल विदेशिहरुले नै धानेका हुन् । यदि हाम्रा पूर्खाहरु लाहुर नगएका भए, मलेसिया, कतार नगएका भए अझै पनि गाउँघरमा कालो फुसको छाने भएका घरहरु मात्रै हुन्थे । दुःख विमार हुँदा उपचार गर्न सक्ने औकात हुँदैनथ्यो । उनीहरुको रेमिट्यान्सले मुलुकलाई प्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ । धेरै कुराहरुमा मद्दत गरिरहेको छ । आर्थिक रुपमा मात्र सहयोग पुगेको छैन । उनीहरुले देश विदेशमा सिकेर आएका ज्ञान र सिपहरु प्नि नेपाली माटोमा प्रयोग गरिरहेका छन् । त्यसको मूल्य केहीसँग पनि तुलना हुन सक्दैन । तर विचारणीय कुरा के हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तो “घर चिन्नलाई घर छोड तर घर नर्बिस” भन्ने कहावतलाई म सदैव स्मरण गरिरहन्छु ।
विभिन्न प्रकारका बाध्यताहरुका कारणले म प्रवासमा छु । म प्रवासमा भए पनि मेरो तन मात्रै यहाँ छ । मन त उहीँ गाउँमा छ । गाउँका उकाली, ओराली, भञ्ज्याङ चौतारीहरुमा विचरण गरिरहेको छ । अब केही वर्ष बसेर म आ फ्नै देश फर्किन्छु । मेरो पूर्खाहरुले भस्मे खोरिया फाँडेर आवाद गरेको माटोमा फेरि सपनाका फूलहरु फुलाउँछु । मेरा आफ्ना आफन्त दाजुभाई इस्टमित्रहरुसँगै समय व्यतित गर्न चाहन्छु । आमाले रोप्नुभएको चमेली र बेगमबेली फूलहरुले मेरो बाटो कुरिरहेका होलान् ।०
याङ्नाम, पान्थर, हाल: दक्षिण कोरिया