१५ भदौ २०८२, पाँचथर। नेपाल शिक्षक महासंघ द्वारा घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार नेपाल शिक्षक महासंघ पाँचथरले शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरको कार्यालयमा दुई घण्टा धर्ना दिई इकाइ प्रमूख देवी प्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल शिक्षक महासंघका सम्बद्ध र आबद्ध घटक संस्थाको प्रतिनिधिहरुद्वारा दुई घण्टा धर्ना दिएर इकाइ प्रमुख सुवेदीलाई नेपाल शिक्षक महासंघ जिल्ला समिति पाँचथरका अध्यक्ष नरेन्द्र बहादुर सम्बाहाम्फे र नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति उपाध्यक्ष वीरेन्द्र खड्काले संयुक्त रूपमा ध्यानाकार्षण पत्र बुझाएका थिए।
इकाइ प्रमूख सुवेदीले ध्यानकार्षण पत्र बुझ्दै सम्बन्धीत निकायमा पेश गरिदिने प्रतिवद्धता व्यक्त गरे। नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिच बैशाख १७ गते भएको सम्झौता र शिक्षा मन्त्रालय र महासंघ बिच भएको नौ बुँदे सहमती अनुसार शिक्षा समितिले पेश गरेको प्रस्तावित शिक्षा ऐनमा सहमतीका बुँदा समावेश नगरिएको भन्दै पुनः आन्दोलन गर्न बाध्य भएको महासंघ पाँचथरका अध्यक्ष सम्बाहाम्फेले बताए।
नेपाल शिक्षक महासंघ सँग भएको सम्झौतालाई लत्याउँदै नयाँ शिक्षा ऐन ल्याउन लागिएकाले असन्तुष्टी जनाउँदै महासंघ पुनः आन्दोलित बनेको हो।
