१७ भदौ २०८२ विराटनगर। उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशमा सचिवको सरुवा, सवारी दुरुपयोग र कार्यशैलीलाई लिएर विभिन्न प्रश्नहरू उठेका छन्।
२०८२ साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशबाट कृषि मन्त्रालय, सिंहदरबारमा सरुवा भएका एक सचिवले साउन २८ गते सरुवा पत्र आए पनि तत्काल रमना लिएनन्। बरु, उनले मन्त्रालयको सवारी साधन प्रयोग गर्दै कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कामकाजका लागि भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले खटाएको थियो।
मुख्यमन्त्री कार्यालय अन्तर्गत खटाइएका कर्मचारीलाई मन्त्रालयले सेवा सुविधा दिन नमिल्ने भएपछि सवारी साधन मन्त्रालयमै राखिएको थियो। यस विषयलाई लिएर मन्त्रालयभित्रै असन्तुष्टि बढेको देखिन्छ।
यसैगरी करार कर्मचारीको सम्झौता नवीकरणको विषयमा पनि विवाद देखिएको छ। मन्त्रीले पटकपटक निर्देशन दिँदा पनि सचिव आफैंले आनाकानी गरेका कारण सम्झौतामा ढिलाइ भएको आरोप छ। यसको विपरीत सचिवले मन्त्रीज्यूमाथि आफ्ना आसेपासेलाई नियुक्ति गर्न खोजेको आरोप लगाएको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयका कर्मचारीहरूले सचिवको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार सचिवले मन्त्रालयमा काम गर्ने वातावरण बनाउन सकेका छैनन्। एक कर्मचारीले भने, “धेरैवटा मन्त्रालयमा काम गरियो तर यस्तो काम गर्न नै अप्ठ्यारो र काम गर्ने वातावरण बनाउन नसक्ने सचिवसँग अहिलेसम्म काम गरिएको थिएन।’’
सचिवले मन्त्रालयका कर्मचारी मात्र नभएर मन्त्री र सचिवालयलाई समेत बेवास्ता गर्दै आफूखुसी निर्णयहरू गर्दै आएको आरोप छ। सचिवालयका अनुसार सचिव विगत २० दिनदेखि मन्त्रीसँग भेट नगरी बाहिर बाहिर नै भेटघाट गर्दै हिँड्ने गरेका छन्।
यस घटनाक्रमले कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयभित्रको प्रशासनिक सुशासन र कार्यसम्पादनमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।
