७ पुष २०८२, धनकुटा। जिल्ला बक्सिङ संघ धनकुटाले मिर्गौला तथा ब्लड क्यान्सरबाट पीडित एक–एक जनालाई सोमबार सहयोग प्रदान गरेको छ।
संघले गत मंसिर २५ गतेदेखि पुष ५ गतेसम्म धनकुटा वसपार्कमा सञ्चालन गरेको म्यूजिकल तथा कल्चरल कार्यक्रमबाट संकलित रकमबाट सो सहयोग गरेको हो। संघले एउटा मिर्गौला फेल भई नियमित डायलासिस गराइरहेका धनकुटा नपा–८ मिलन चोकका चौतिसलाल राईलाई नगद एक लाख १८ हजार ४७० रुपैंयाँ सहयोग गरेको हो।
त्यस्तै ब्लड क्यान्सर भई उपचार गराइरहेका चौबिसे गाउँपालिका–७ लुफादिनका मूर्तीकार तथा स्रष्टा जितेन चेम्जोङलाई पनि नगद ३० हजार रुपैंयाँ सहयोग प्रदान गरेको छ। चेम्जोङओ अहिले काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै धनकुटा सदरमुकामस्थित श्रीपञ्चमीमा आश्रित अनाथ बालबालिकालाई २२ हजार रुपैंयाँ बराबरको खाद्यान्न, धनकुटा वसपार्कमा ४५ हजार रुपैंयाँ बराबरको सिसि क्यामेरा जडान साथै जिल्लास्थित विभिन्न क्लवहरुलाई १८ हजार रुपैंयाँ बराबरको खेलकुद सामग्री प्रदान गरिएको बक्सिङ् संघ धनकुटाका कार्यवाहक अध्यक्ष हेमचन्द्र राईले बताए।
धनकुटा सदरमुकाममा आज आयोजित एक कार्यक्रमकाबिच सो सहयोगहरु हस्तान्तरण गरिएको थियो। म्यूजिकल तथा कल्चरल कार्यक्रमबाट जम्मा ६ लाद ५ हजार रुपैयाँ रकम संकलन भएकोमा सहयोग र अन्य खर्च कटाएर ९० हजार रुपैंयाँ बचन भएको बताइएको छ।
