Advertisement Ad

अजम्बरी धुन

Advertisement Ad

राज दिलाञ्जली

आज उनी मरीन् । साँच्चै उनको अस्तित्व छैन अब यो दुनियाँमा । कति सहजै पेन्सिलले कोरिएका अक्षरहरुझैं मेटियो एउटा नश्वर जीवनको अस्तित्व ।

मिर्मिरे उज्यालो नहुँदै देखि सडकमा कुकुरहरु एक अब्यक्त पीडामा शोकगीत गाउँदै रोइरहेको प्रतीत हुन्थ्यो । धर्तीमा सुर्यको रक्तिम आभाले स्पर्श गर्दा पश्चिमतिर दूर क्षितिजमा कालो बादलको बेआकारको एउटा थुप्रो देखियो । ओलिभर क्रमबेलको नगरमा कर्फ्युको घण्टि बजेपछिको सन्त्रासझैँ अनौठो सन्नाटाले छोपेको छ पूरै सहर । एउटा डरलाग्दो सपनाबाट व्यूँझेजस्तो देखिन्छ परिवेश । यो अवाञ्छिन परिस्थितिदेखि तर्सेर होला; एकाबिहानै कागहरु बथान बाँधेर टाढा … धेरै टाढा उडेर गइरहेका  थिए । हेर्दाहेर्दै ती कागका बथान मुर्दाशान्तिले छोपेको यो सहरभन्दा धेरै परको क्षितिजमा बिलिन भए । प्रातकालमा धुपीसल्लाका रुखहरुले ठिङ्ग उभिएर शीतको आँसु चुहाउँदै यो मौन बस्तीलाई हेरिरहेका थिए; मुकदर्शक भएर । अञ्जान साक्षी बनेर ।

शिशिरयामको चिसो एक्कासी झनै चिसिँदै गईरहँदा यस्तो लाग्छ; मानौं घाम उदाउनु अघि नै यो बिहानी एउटा आकस्मिकताको पहीरोमा थिचिएको छ ।

यस क्षण सयनकक्षमै स्तम्भित भएर म सोचिहरेछु– उनले सहज मृत्युवरण गरीन् या कुनै सुनियोजित घटनाको शिकार भईन् ? तर जे होस उनी त मरिसकीन् । अब यो संसारमा उनको अस्तित्व खोज्न सकिँदैन । एक महाशून्यमा बिलिन भईन् उनी ।

यसो सम्झन्छु– रातको अन्तिम प्रहरमा सपना हो कि बिपनामा; तन्द्रावस्थामै सधैं थिएटरमा बज्ने चीरपरिचित ‘मेटालिक फ्लुट’ को एकोहोरो धुन बजेको सुनेझैँ लाग्छ । कसैको मृत्युशोकमा रोएको शंखध्वनी जस्तो । त्यसपछि क्रमसः भाले बास्न थाले । अनि पूर्वक्षितिजबाट सुर्यको आभा पोखियो । मिर्मिरे बिहानी नहुँदै सहरमा एउटा सनसनीपुर्ण खबर फैलियो– थिएटरकी पूर्णिमा मरी ।

म घटनाबाट पलायन हुन खोज्छु । अन्यमनस्क बन्नलाई कोसिस गर्छु । तर सक्दिन । पूर्णिमा मरेको कुरा सत्य जस्तै लाग्दैन मलाई । म मनमनै कामना गर्न थाल्छु; यो खबर झुट भैदियोस् । एक अफवाह बनिदियोस् ।

साँच्चै पूर्णिमा मरेकी नै हो त ? उसको उपस्थिति, उसको ‘हुनु’ को आभाषहरु अनन्त ब्रह्माण्डमा विलय भएको हो र ?

उसको त्यो ‘मर्नु’ ले मलाई बेस्सरी चिमोट्यो । मुटुमा बरफको सुइरो घुसेझैँ चिसाम्य पीडानुभूतीले कक्र्यायो मलाई । मेरो शरीरको एक हिस्सा लुछिएर गएको पीडाबोध भयो । खासमा ऊ मेरो को नै हो र ? तैपनि मनको अपनत्व संसारिक सीमाभन्दा धेरै पर … पुग्दो रै’छ । तर ऊ प्रतिको मेरो आसक्ति रुखमा टाँसिएको ‘प्यारासाइट’ ऐंजेरु जस्तो न थियो । अर्थात भनौं; बिना बोटको आकाशबेली थियो ।

यतिबेला म झ्यालका सीसामा जमेका मसिना शीतका थोपाहरु औंलाले खेलाउदै आफ्नै पाराको सोचमा डुबेको छु । पूर्णिमा मर्नुलाई मैले अन्धकार औंशीको प्रहर ठानुँ वा अर्को नवीनताको प्रस्थानविन्दु ? यसै हो भन्न सक्दिन । जम्मामा, उनी हावाको सानो झोक्काझैं आईन् मेरो जीवनमा । अनि आज अप्रत्याशित पानीको फोकाझैं अनायास फुटीन् । प्रेमलाई जीजिविषाको भित्तामा पलाउने बेमौसमी च्याउको संज्ञा दिने पूर्णिमा साँच्चै आजीवकी पात्र थिईन् । मानवताबिरोधी ग्याँसच्याम्बर जस्तो बिषाक्त विचारहरुको पुलिन्दा थिईन् । समग्रमा उनी अप्ठेरो भीरमा फुलेकी दुर्लभ सुनगाभा थिईन् । जसको अस्तित्व स्वीकार गर्न सकिन्छ, तर उपस्थितिको सानिध्यता नाई ।

म यादहरुको अर्को तरेली खोतल्छु– आठ बर्षअघि पूर्णिमालाई मैंले पहिलोपटक देखेको थिएँ । ‘नयाँ बर्ष साँझ’ को कार्यक्रम थियो, थिएटरमा । एक कुशल नर्तकी थिईन् उनी । शास्त्रीय नृत्यका मुद्राहरुमा अप्सरा नै देखिएकी थिईन् उनी । सुनौलो वश्त्र र शास्त्रीय आभूषणमा उनले उर्वशीलाई नै चुनौती दिन्थीन् । मत्स्यकार सुडौल शरीर । हिमशिखरझैं उच्च उरोज । मृगकाझैं नयन । इन्द्रधनुषी परेलीहरु । अनि सिङ्गमरमरझैं गोरो वर्ण । जुनसुकै पुरुष हृदयमा भूकम्प ल्याउन काफि रुपराशी थियो उनको । रङ्गिन बत्तीहरुको चमकमा ब्ल्याक बक्स बीचमा बसेर उनले बाँसुरी बजाएकी थिईन् त्यो साँझ । त्यो बाँसुरीको धुन यति मीठो थियो कि ! म आफ्नो अस्तित्वलाई नै बिर्सिएर स्वप्नशयर गर्न पुगेछु ।

त्यसदिनयता मलाई के भयो कुन्नि ? उनीप्रति नजानिँदो आकर्षणले तानिरह्यो । पूर्णिमा नृत्याङ्गना मात्र नभई कुशल बाँसुरीवादक र शितारवादनमा समेत सिद्धहस्त रहिछन् ।

उसको तिलस्मी कलाको गुरुत्वले हो वा मोहिनी रुपको आसक्तिले हो म प्रतिदिन उनीप्रति अनुरक्त बन्न थालेँ । किन–किन मेरो मनले पूर्णिमाको सामिप्यता खोज्न थाल्यो । त्यसपछिका दिनहरुमा म रोजै थिएटर धाउन थालें । थिएटरमा हरेक साता नाटकहरु मञ्चन हुन्थे । स्वदेशी तथा विदेशी नाटककारका प्रख्यात नाटकहरुमा जीवन्त अभिनय गर्थिन् पूर्णिमा ।

हेनरिक इब्सेनको विश्वविख्यात नाटक ‘अ डल्स हाउस’ मा नोरा हेल्मरको भुमिकामा उनले गरेको अभिनयलाई सबैले ‘मास्टरपीस अफ पूर्णिमा’ भन्थे । हमेसा थिएटरमा बाहेक उनलाई चाहेर पनि कतै देख्न र भेट्न सकिन्नथ्यो । यदाकदा पुस्तक पसलमा र आर्ट ग्यालरीहरुमा झुलुक्क देखिन्थिन् र फेरि महिनौँदिन सम्म उनको दर्शन मिल्दैनथ्यो । म जति जति पूर्णिमाको अस्तित्व र ब्यक्तित्वको विष्लेषण गर्थें त्यति नै उनी रहस्यमय लाग्थीन् । जम्मामा उनको अस्तित्व नै कोलाज चित्रझैं अनियमित लाग्थ्यो ।

मनको खुल्दुली र एउटा अतृप्त प्यासले वशिभूत भएर मेरा एकजना चित्रकार मित्रको सहयोगमा एकदिन अनायास ठेगाना खोज्दै पुर्णिमाको डेरामा टुप्लुकिएँ ।

मेरो अनपेक्षित आगमनबाट बेखबर पूर्णिमा बगैंचाको बीचमा बेत बाँसको कुर्सीमा बसेकी थिईन् । उनको अघिल्तिर एउटा इजेल थियो । जसमा एउटा निर्माणधिन चित्रको क्यानभाष अड्याइएको थियो । मेरो पद्चापले उनको ध्यान क्यानभाषबाट विकेन्द्रित गरिदियो ।

एकपल्ट आश्चर्य मिश्रित भावमा पुलुक्क हेरेपछि ओंठभरि स्वभाविक मुस्कानको आभा छरेर उज्यालो अनुहार मतिर फर्काउदै उले सोधिन्– ‘अरे दाइ तपाईं ? तपाईं त हाम्रो थिएटरमा नियमित नाटक हेर्न आउनुहुने दाइ होइन ?? आज अचानक मेरो डेरा आइपुग्नुभएछ; कहिँ भुलेर त होइन ?’

म सहज बगें– ‘आउनलाई त खासै कठिन भएन, तर सायद फर्किदा चाँहि पक्कै बाटो भुल्नेछु ।’

‘किन र ?’ कौतुकपूर्ण तरिकाले आँखीभौं खुम्चाएर सोधीन् उनले ।

‘स्वर्गको बगैंचामा पुगेपछि कसैले धर्ती नियाल्छ र ?’ म चिप्लिन खोजेँ चिप्लेकिरोझैं ।

‘यसको मतलब… मेरो डेरालाई स्वर्ग ठान्नुभयो होइन त दाइले ? कत्रो भ्रम उब्जिएछ हगि तपाईंको मनमा ?’

‘आँखाले देखेको सत्यलाई भ्रम ठान्छौ तिमी ?’ –मेरो प्रश्न ।

‘आँखाले देख्दैमा सबैथोक कहाँ सत्य हुन्छ र ! इन्द्रेणीका सातै रङ्ग भ्रम होइन र ?’

‘पूर्णिमा, तिमी असहज महसुस गर्दिनौ भने आज मेरा मनका केही कुराहरु तिमी समक्ष राख्नलाई आएको छु । यसलाई तिम्रो कलाप्रतिको अनुराग ठान वा तिम्रो लालित्यमय सौन्दर्य प्रतिको आसक्ति मान; आफ्नो भावसंवेगमा बहँदै यहाँसम्म आइपुगेँ । तिमी जेसुकै भन, तर जहाँ तिमी उपस्थित हुन्छौ त्यो ठाउँ स्वर्ग बन्छ । तिमी जुन ठाउँमा पाइला राख्छौ त्यो ठाउँ महफिल बन्छ । तिमीले छोएका निर्जीव वस्तुहरुमा संगीतको प्राण भरिन्छ । लाग्छ, तिमीलाई नै देखेर फूलका कोपिलाहरु पनि मुस्कुराउछन् । साँच्चै तिमी बाटो भुलेर पृथ्वीमा झरेको अप्सरा हौ ।’ –मैंले आफ्नो मनको बाँध फुटाएँ । यसो भनौँ, आफ्नो लाचार आसक्ति ब्यक्त गरेँ ।

धेरैदिनदेखि धुम्मिएको आकास झरि परेपछि उघ्रिए जस्तो, उरुङ खात भारी बोकेको पथिकले चौतारीमा भारी बिसाएर ज्यान चङ्गा बनाए जस्तो वा भनौँ चित्त दुखेको बालकले बेस्सरी रोएर आँशु निखारे जस्तो; धेरै वर्षदेखि मनको अन्तरकुन्तरमा गुम्सिएर बसेको पूर्णिमा प्रतिको तमाम भावहरु ब्यक्त गरेपछि त्यो दिन मलाई पनि एकदमै हलुको महसुस भयो । वास्तवमा त्यो दिन म आफूलाई किञ्चित बाँकी नराखी पूर्णिमाको अगाडि प्रस्तुत हुने हिम्मत बटुलेर त्यहाँ पुगेको थिएँ ।

‘प्रसंसाको पुल त लामै बाँध्नु’भो दाइ; तर मलाई सुन्दर देख्नु तपाईँको कमजोरी हो । सुवास बिनाको पलाँसको फूलले गुलाबको दर्जा पाउन्न ।’ क्षितिज नियाल्दै केही नैराश्य भावमा जवाफ दिएकी थिईन् पूर्णिमाले ।

‘आस्थाले परिपूर्ण मन र प्रेमले भरिपूर्ण हातको स्पर्शले पत्थरको मूर्ती पनि ईश्वर बन्छ ।’ –मैंले तर्क उभ्याएँ ।

‘मलाई प्रेम र भगवान दुबैप्रति आस्था छैन दाइ !’

‘त्यो तिम्रो भुल हो !’

‘भुल होइन, विशेषता बुझ्नुस् ।’

‘काँडा उम्रिनु गुलाबको विशेषता हो; तर हामी फूल नै रोज्छौं काँडा होइन ।’ आफ्नो तर्कप्रति सन्तुष्ट हुँदै त्यसको प्रतिक्रिया पूर्णिमाको अनुहारमा नियालें । जवाफमा उनी केवल फिस्स हाँसिन् । दिग्दारी भावमा कुर्सीबाट उठेर कोठातिर जान ईशारा गरिन् । म आज्ञाकारी बनें । तर जब कोठाको दृष्य देखें, म अवाक् भएँ । कोठाबीचको टेवुलमाथि एउटा सुन्दर सेरामिक फूलदानीमा क्याक्टसका सुख्खा र निर्जीव हाँगाहरु भरिएको थियो । उफ् !! … जीवनमाथिको कत्रो आइरोनी हो यो ?

एकफेर कोठाको सिङ्गो परिवेश नियालें । त्यहाँ हरेक चीजले जीवनको खिल्ली उडाइरहेका थिए । भित्तामा झुण्ड्याइएका चित्रहरुमा जीवन थिएन । केवल पहेंला खण्डहरहरु, नीर्जन भुमिहरु, कालो छायाँ अनि धुँवैधुँवाका चित्र थिए ती । सायद पूर्णिमा स्वयंम्ले बनाएका चित्रहरु हुन् ती । पूर्णिमाले दुई कप कफी किस्तीमा लिएर आईन् । सँगै पियौं । मेरो सामुन्ने ठिक अगाडिपट्टी थिईन् पूर्णिमा । मौनतालाई भाँच्न नआएको बनावटी खोकी खोकेँ । एकदमै आर्टिफिसियल खोकी ।

त्यसपछि मौनतालाई भाँच्दै जिज्ञासा पोखेँ –‘तिमी एक्लै हो कि कोहि … ?’

‘सम्झनुस् एक्लै ।’

‘मतलव तिम्रो आफन्त छैनन् ?’

‘भए किन एक्लो हुन्थें ?’

‘विबाह ?’

‘आवस्यक ठान्दिन ।’

‘जीवन कसरी चल्छ त ?’

‘देखिरहनुभएको छ त कसरी भन्न आवस्यक छ र दाइ ?’

‘जीवनमा तिमीले प्रेम … ?’

‘गरेकी थिएँ असफल भएँ ।’

‘यो फूलदानीमा डेड क्याक्टस किन ?’

‘मेरो जीवनको सिम्बोल हो त्यो । ’

म उसको जवाफले अवाक् भएँ । सर्वाङ्ग चिसो भएँ । मेरा तर्कहरु रित्तिए । अहो ! … कस्ती खालकी अजीवकी केटी हुन् यी ? उनलाई पगाल्ने सामथ्र्य आफूमा भेटिंन मैले । निरुपाय लामो लामो … स्वास तान्दै त्यहाँबाट बाहिरिएँ । बाहिर बगैंचामा पुगेर सोचें– पूर्णिमाभित्र कुनै अन्धकार औंशीको कथा होला सायद । कोटको गोजी छामें । त्यो एक थुङ्गा रातो गुलाबले मेरै खिलाफ ब्यङ्ग्य बनेर हाँस्दै थियोे । म नराम्ररी रन्थनिएँ । पूर्णिमालाई प्रेम प्रश्ताव राख्ने रहरलाई त्यही गुलाबको थुँगासँगै कुल्चिराखेर चिसो हावाको झोक्काहरुसँग ठोक्किदै लड्खडाउँदै घर पुगें ।

केहि दिनपछि त्यही चित्रकार मित्रबाट थाहा पाएँ– पूर्णिमा कुनै दुर्गम गाउँबाट आएकी केटी रै’छिन् । एकजना युवकको धुर्त प्रेममा फसेर धोका पाएपछि दर्जनौं पटकको असफल आत्महत्या प्रयासमा पनि बाँच्न सफल भएपछि प्रणय वेदनालाई भुलाउन संगीत र अभिनय कला सिक्न थालेकी रहिछन् । उनको जीवन्त अभिनय, सिद्धहस्त वाद्यवादन अनि कला प्रतिको समर्पणले गर्दा उनले सहरको नामुद थिएटरमा काम पाईन् । त्यहिं उनले नृत्यको तालिम लिईन् । त्यसपछि पूर्णिमा साच्चिकै पूर्णिमा बनिन्; उनको सुनामको, प्रसिद्धिको किरणसँगै ।

पहिलो र त्यो अन्तिम ब्यक्तिगत भेट पश्चात म पूर्णिमासँग नराम्ररी तर्सिएर भागेथें, उनको घरबाट । त्यसपछि उनलाई भेट्ने जाँगर पलाएन म भित्र । हरेक आइतबार बेलुका थिएटरमा नाटक मञ्चन हुन्थ्यो । तर, त्यसपछि म पटक्कै गइन नाटक हेर्नलाई ।

गोधुली साँझमा थिएटरमा गाइएको अर्केष्ट्रा गुञ्जिन्थ्यो । त्यसपछि पूर्णिमाले बजाएको बाँसुरीको मधुर धुन । म बरण्डामा उभिएर सुनिरहन्थें । अनि सोच्थें– पूर्णिमाका कुशल औंलाहरु कस्तरी नाच्दैहोलान् बाँसुरीको प्वाँलहरुमा । अहो ! … ती मधुर धुनहरु कस्तरी मेरो सिङ्गो अस्तित्वलाई नै हल्लाउने गरी बज्थे । सायद धरती पसिनै पसिना हुन्थ्यो । ताराहरु टिलपिलाउन छाड्थे । हररात म चिसो बताससँग बहकिएर मिसिन पुग्थें, त्यहिं थिएटरका धुनहरुसँग । पूर्णिमा र त्यो मेटालिक फ्लुटको धुन; मायालु स्पर्श थियो, त्यो मेरो निम्ति । लाग्थ्यो– क्याक्टस जस्ती पूर्णिमा म छेउ बसेर छुँदैछिन् मलाई ।

तर, आज उनी मरीन् ।

अब बज्दैनन् थिएटरमा ती अजम्बरी धुनहरु । आज राती पक्कै जून रुनेछ । ताराहरु रुनेछन् । परिवेश क्रमशः गह्रौं बन्दैछ । अनुभूतीभरी लेकाली कुहीरोझैं हामफाल्दै आइपुग्छन् उरुङ्खात बाँसुरीका धुनहरु ऐंठन बनेर ।

rdilanjalee@gmail.com