Advertisement Ad

फालेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिद्धदेवी मावि सिदिनले पचायो

Advertisement Ad

१६ माघ २०८०, पाँचथर। फालेलुङ गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड लगातार तीन पटक प्रथम हुँदै सिद्धदेवी मावि फालेलुङ–७, सिदिनले पचाएको छ।

यसअघिका चौंथो र पाँचौं संस्करणमा प्रथम बनेको सिद्धदेवी माविले मेमेङ माविद्वारा आयोजित छैठौं संस्करणमा पनि प्रथम भएसँगै रनिङ शिल्ड पचाएको हो। प्रतियोगिताको छैठौं संस्करणमा ६ स्वर्ण, ५ रजत र २ कास्यपदक सहित सिद्धदेवी मावि प्रथम भएको हो। यसअघि दुई पटक प्रथम बनिसकेकाले यसपटक शिल्ड चपाउने उदेश्य सहित तयारी गरिएको र सोहि अनुसार सफलता पनि हाँसिल भएको विद्यालयका प्रधानाध्यापक सुरेन शिशिर केरुङले बताए।

प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्यपदक जितेको कालिका मावि फालेलुङ–५ प्राङबुङ द्वितीय बन्यो। ३ स्वर्ण, १ रजत र ३ कास्यपदक जित्न सफल सिंहसिद्ध मावि फोलेलुङ–८ अंशुभञ्ज्याङ त्रितीय र २ स्वर्ण, १ रजत र ३ कास्यपदक जितेको सिंहबाहिनी मावि सान्तवना बन्यो।

त्यस्तै सिद्धकालिका मावि फालेलुङ–२ ले १ स्वर्ण, ४ रजत र २ कास्य, सरस्वती मावि मच्छेबुङले २ रजत र २ कास्य, विद्याप्रचार मावि आइतबारेले १ स्वर्ण र १ कास्य, सरस्वती मावि ताङ्लेपाले १ रजत र मेमेङ माविले १ कास्यपदक जितेका थिए। खुँगा मावि खाल्डे, सरस्वती मावि फालेलुङ–१, मञ्चमुखी मावि र सिद्धेश्वरी मावि भने पदक बिहीन बने। प्रतियोगितामा गाउँपालिकाका १४ विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगिताका बिजेता खेलाडीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि, फालेलुङ गाउँपालिकाका अध्यक्ष बीरबिक्रम थाम्सुहाङ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगु र विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम आयोजक मेमेङ मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।