– सिरेन वान्तावा
आधा बाटो आएर
लेखेको हुँ यो पत्र
मेरी आमा जस्तै बिधुवा एक्लो पिपलको बोट मुनि
पथिकहरुले बास बस्न छोडिसकेको पाटीघरबाट
स्निग्धमा झरेका आँसुले
पखाल्न नसकेका दूषिकाका डोबहरु नभुलेर
यो एकान्त उल्लू बास्ने बञ्जरमा
कसरी म एकतमास हिंडिरहेछु एक्लो
अनिदो दिउँसोहरु कुहिएर दङदङ्ती गनाएपछि
अँध्यारोले अमिलो बमिट गर्छ
तर्नु कति मुस्किल छ ?
देशको रातो आँसु जस्तै बगेपछि
त्यहाँ स्वर्गीय पिताजीका पसिना गनाउछ
काधभन्दा धेरै माथी भेल उर्लन्छ
अतलस्पर्शी घुमाउने दहहरुमा रिंगटा लाग्छ
मेरो पुग्ने गन्तव्य भनेको
मलामीले आँसु झार्ने, हाँसेर घाट पुग्ने जस्तो हुन सक्दैन
युद्धमा होमिएका घाइते युद्धवीर सिपाहीले
खोजीरहेका हुन्छन् आतुर–आतुर दुश्मन
र
युद्धका रगतले खोजेका शान्तिको मार्ग जस्तै
छेन्छेलुङ पाकुमा पुग्नु अघि
लोकतन्त्रको नाइटो खसेको दूषित फेदीहरुमा
नाकलाई छोप्न खोज्दा
बेस्सरी दाहिने आँखा डराउछ
लजालु देब्रे आँखाको भरले
सातखाल्डे भीर चड्न लाग्दा लडेर मरेछु भने
फोटोलाई पोष्ट गर्नेछ मेरो
देशको छाँयाले फेसबुकमा छाँया जस्तो
रक्ताम्य छाती दुई फ्याक भएको घुर्मैलो फोटोमा
श्रद्धाञ्जली लेख्नेछन् इतिहासकै दुखित् घाउहरुले
र
जगत भरीलाई देखाउनेछन् रमिता
त्यसैले ढिला नगर्नु
तिम्रो हरेक बेदनामा सप्तकहिटी धाराको मन्तातो पानीले
पखालेको मेरो मायावी व्यस्त जीवनले
नीलो मैदानको खावामा चिनो छोडेको हुनेछु
र
भुल्ने छैनौं त्यो निशानी
त्यहाँ मेरी विधुवा आमाको केस जस्तै
चिसो हिउँ फुलेको हुनेछ
अब ढिलो नगर्नु
यो मेरो अन्तिम पत्र हो ।
