Advertisement Ad

पाँचथर गोल्डकपः टाइब्रेकरमा मोरङलाई रोक्दै बाग्मती अन्तिम चारमा

Advertisement Ad

१४ फागुन २०८०, पाँचथर। मोरङको पथरी ११ लाई टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाही चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

सदरमुकाम फिदिमस्थित फिदिम खेलमैदानमा सोमबार भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा बाग्मतीका देवा गुरुङ, अवि लामा, निर्मल वल र अनिल राना मगरको प्रहार गोलमा परिणत हुँदा मोरङको लागि निरज परियारको प्रहारले मात्र जाली चुमेको थियो। जोन ग्लोरी र मञ्जिल खड्काको प्रहार बाग्मतीका गोलरक्षक रौनक चौलागाईले रोकेका थिए।

मोरङको दुई प्रहार रोकेका रौनकले खेलको म्यान अफ् दि म्याच बन्दै नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे। प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको बाग्मतीले अब फाइनल प्रवेशका लागि बुधबार आयोजक पाँचथर क्लवसँग खेल्नुपर्नेछ। प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमीले ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवको सामना गर्नेछ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लवले जनाएको छ।