Advertisement Ad

आँधी पर्खिरहेको शालिक

Advertisement Ad

– अमित थेबे मिहाङ

हाउ तेङ्बे !
कतिञ्जेल उभिन सक्ला र
वनारसी बाबु
सुम्हा?लुङलाई होचो देखाएर ?

पटक्कै
भूल गरेर भए पनि
फेदेनको छातीलाई टुँडिखेल नसम्झनु
पौवाभञ्ज्याङको हावालाई चानचूने नठान्नु
हेंवाखोला उँधै उँधो बगेकोमा ढुक्क नहुनु
इतिहासलाई धूलो सम्झेर मक्ख नपर्नु
नशाभित्र रगत चुपचाप छ भनेर फिस्स नहाँस्नु
हाउ तेङ्बे !
वनारसी बाबुको खुट्टामुनि हेर्नु
भुइँचालो कताबाट जाँदैछ भनेर

– डम्फू बनेर धेरै बजे दोर्जे थिङहरू
– च्याब्रुङ भएर धेरै घन्के भू–बिक्रमहरू
– सिली नाचेर धेरै रन्के साङ्केनहरू
त्यै पनि,
– च्याङ्बाहरू चुपचाप काँध थापिरहे
– लुङाहरू जोर नाल बन्दुक पड्काइरहे
– यावाहरू बूढी औँलाको छाप धसिरहे
वनारसी बाबु
दाह्री मुसार्दै ढाडमाथि उभिरहे !

तरसाङ तेङ्बे !
कतिञ्जेल उभिन सक्ला र
वनारसी बाबु
सुम्हा?लुङलाई होचो देखाएर ?

– फेदेनको भुइँभरि चल्दै गरेको आँधीहुरी छ
– कुना, गल्ली, चोकमा बल्दै गरेको झिल्का छ
अरू त अरू
– लिम्बुवान गेटबाट निस्कन तम्तयार
जुलुस छ ।