Advertisement Ad

Advertisement Ad

याङनाम गोल्डकपः कुम्मायकको विजयी सुरुवात

२७ चैत २०८०, पाँचथर। फिदिम–१० याङनामस्थित खलङगाटारमा याङनाम फुङ्नाम मेलाको अवशरमा आयोजित दोस्रो संस्करणको याङनाम गोल्डकप फुटवल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले विजयी सुरुवात गरेको छ।

खलङगाटारस्थित इमानसिं रङ्गशालामा मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक (सेतो) माथि ३–० को शानदार जीत निकाल्दै कुम्मायकले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। खेलको २५ औं मिनेटमा सुशील लाओतीको गोलबाट कुम्मायकले अग्रता बनाएको थियो।

पहिलो हाफको अतिरिक्त समयमा दिल सम्बाहाम्फेले टिमबाट दोस्रो तथा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए। उनै दिलले अन्तिम ह्वीसिल बज्नु केहि समय अगाडि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को जीत दिलाए।

प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो साँढे १ बजेदेखि हिलिहाङ गाउँपालिका र आयोजक (रातो) र दिउँसो साँढे ३ बजेदेखि फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाबीच खेल हुने आयोजक याङनाम फुटवल क्लवले जनाएको छ।

याङनाम फुङनाम मेला सँगै २०८१ वैशाख २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार रुपैंयाँ र उपविजेताले नगद १ लाख १ हजार रुपैंयाँ प्राप्त गर्ने फिदिम नपा–१० का वडा अध्यक्ष एवंम् मेला व्यवस्थापन समितिका अध्यक्ष होमराज थाम्सुहाङले बताए।