Advertisement Ad

व्यवस्था फेरियो, इन्द्रबहादुर उर्फ कान्छादाईको अवस्था फेरिएन

Advertisement Ad

– सन्तोष नेम्बाङ लिम्बू

बि.सं. २०१६ सालमा इलाम जीतपुरमा जन्मिएका हुन्, इन्द्र बहादुर लिम्बू अर्थात् कान्छा दाई। २०८१ सालसँगै ६५ बर्षमा हिँड्दैछन्, उनी। जन्मदै दृष्टिबिहिन कान्छा दाई वैंशमा भने बाँसको लौरीको भरमा झिस्मिसेमा नवमी बजार पुग्थे। कहिलेकाँहि बजारमा ढिलो उठ्ने पसलेलाई रङ्ग चिया पकाउ भनि उठाउथे। प्रायः नवमी बजारतिरै देखिने कान्छा दाई साँझ परेपछि भने आफ्नै झुपडीमा फर्किन्थे।

केहि बर्षदेखि कम्मर दुख्ने समस्याले सताएपछि कान्छा दाई गाँउघर छरछिमेकमा कमै पुग्ने गरेका छन्। जीतपुर नवमी बजारबाट १५ मिनेट जति पश्चिम ओरालो झरेपछि दक्षिण दैलो फर्केको खोल्सीपारि सानो कटेरो जस्तो घर देखिन्छ। घरमा कान्छा दाई जस्तै जन्मजात दृष्टीबिहिन जेठी दिदी सँगै बस्छन्। बाँसका टाटीले बारिएको, भित्री कुनामा तीनवटा ढुङ्गा गाडिएको चुलो, माथि जस्तापाता च्यापिएको छाना, सिकुवामा भत्केको जाँतो, चारकुना नमिलेको सानो आँगन। बा–आमाका दुई मात्र सन्तान भए पनि इन्द्र बहादुर लिम्बूलाई गाँउलेले प्यारो नाम दिएका छन्, कान्छा दाई।

आम्दानीको केही स्रोत नभएको कान्छा र दिदीको झुपडी। सपाङ्ग जस्तै काम गरिखाउँ भने दुबैजना जन्मजात दृष्टिबिहिन। उमेर पनि बुढौलीपनमा पुगेको। गाँउघरमा बनिबुतो गर्नलाई छरछिमेकले उतिसारो काममा लगाउने कुरो पनि भएन। दुबैजनामा सहानुभूती प्रकट गर्नु बाहेक अरु विकल्प केहि छैन। भने जस्तो खान लाउन त दिदीभाईले कहाँबाट पाउनु ? दिदीभाईको नाममा झुपडी आसपास कुखुरा सम्म पाल्न सकिने पाखोबारी छ। पाखोबारीमा स्कुस, फूलतरुल, माने टुसाउदै छन्। कहिलेकाँहि कान्छा दाई मनले खाँएको छिमेकमा सकेको काम सघाउन जाने गरेका छन्। दाउरा चिर्न, घाँस काट्न सघाए बापत आनोमानो चामल बटुलेर घर पुर्याउछन्। साँझ बिहान दिदीले छामछामछुमछुम गर्दै अनुभवको भरमा पकाइ दिएको खोलेफाँडो खाएर गाँउघर डुल्नु कान्छा दाइको दैनिकी जस्तै छ।

दृष्टिबिहीनताका कारण कान्छादाईले कहिल्यै च्याब्रुङ् नाचेका छैनन्। च्याब्रुङका धुनहरु भने कान्छादाईले बालककालदेखि यो बुढ्यौलीसम्म सुनिरहेका छन्। गाँउघरमा च्याब्रुङ घन्केको सुने भने कान्छा दाई धुन पछ्याउदै च्याब्रुङ बजेको स्थल पुगिहाल्छन्। कसैले निम्तो बाँडन छुटाए पनि शुभकार्यमा बजेको च्याब्रुङको धुन चाख मानेर सुन्छन्। लाग्छ कान्छा दाईमा पनि च्याब्रुङको मोह खुबै छ। उनी भन्छन्– ‘‘च्याब्रुङको धुनहरु धेरै प्रकारका हुन्छन्। जीवजन्तुहरुको आवाजको नक्कल गर्दै साथीहरुले च्याब्रुङ बजाएको मन पर्छ, सुन्छु सयौं च्याब्रुङहरु एउटै तालमा बजेको। च्याब्रुङको धुनले एउटै चालमा गोडाहरु नचाको नदेखे पनि म महसुस गर्न भने सक्छु। मतलब मैलै भित्री मन र आत्माबाट च्याब्रुङ्गेहरु गोलाकार घेरा भित्र विभिन्न शैलीमा नाचेको देख्छु।’’ कान्छा दाइको यस्तो अदभूती सुन्दा आफूलाई पनि च्याब्रुङ नाच्न हुटहुटी चलेर आउछ।

जीतपुर नवमी बजारमा चिनेजानेका दाजुभाई छरछिमेकीले लौ यो पनि खाओ भन्दै दिएका मिस्त्री, बिस्कुट, मिठाई बटुल्न उनको दिनचर्या छ। गाँउघरतिर हुने बिहेबटुलो, भोजभत्तेर, सभासमारोहमा पुग्न प्रायः छुटाउदैनन् कान्छा दाई। दृष्टीबिहिन भए पनि कान्छा दाई सपाङ्ग लाठे जतिकै बलको काम गर्थे। हालः बुढौलीले छुदै गएर होला उमेरमा जस्तो रुख चढेर घाँस झार्न, ढिकी कुटिदिन, दाउँरा चिरी दिन भने सक्दैनन्। आजभोलि साँझ बिहान रेडियो एफएममा समाचार सुन्छन्। कसको घरपसलमा छिपेको जाँड देखि मीठो मसिनो के पाक्छ भन्ने उनलाई राम्ररी जानकारी छ। आफ्ना वरीपरी चिनेजानेकोमा को सँग कतिको बिचारको दम छ भन्ने साथीभाईको नाडी पनि छामिसकेका छन् उनले। आफूलाई भगवानले आँखा देख्ने बनाइ दिएको भए म पनि यो देशको असल नेता बन्थें। भदौरे जेठा पद्मम सुन्दर लावती, न्यायाधिसको छोरा सुवास नेम्बाङ जस्तै नेता हुन्थें भन्दै मनको बह सुनाउछन्।

आफ्नी दिदीको साथमा इन्द्रबहादुर (कान्छादाई)।

‘‘मलाई धेरैले देखे पनि मैंलै असली नेताहरु चिनेको छु। बि.सं. २०३६ सालको जनमत संग्रह देखि भोट हाल्दै आएको छु। बहुदल देखि गणतन्त्र सम्म आइपुग्दा संघ प्रदेश देखि स्थानीय चुनावमा छानीछानी भोट हाले पनि हाम्रो अवस्था जस्ताको तस्तै छ। जुनै पार्टीले जिते पनि नेताहरु कहिल्यै फर्केर मेरो झुपडीमा आएनन्। हाम्रो दुख घाम जतिकै छर्लङ्ग छ खै त नेताहरुले देखेको ? म हिंड्ने त्यहिं खोल्सीको गोरेटो, त्यहिं झुप्रो, त्यहिं थोत्रे लाठीको साहारा अहिलेसम्म नि त्यसै छ। गत साल म यहिं खोल्सीकी गोरेटोमा नराम्रो गरी लडें । जीतपुर स्वास्थ्य चौकी सम्म गाँउलेले स्टेचरमा बोकेर लगे। कम्मर पछाडीको डडेल्नोको हड्डि मक्किएछ। अहेबले इलाम झापाको अस्पताल जानु भने। आर्थिक समस्याले तत्काल जान सकिंन। उपचार सहयोगको लागि दाजुभाई छिमेकीलाई मात्र कति मागिरहनु ? सकेजति पटक–पटक सरसहयोग गरेका पनि हुन्। कति हात थामिरहनु । यस पटक माँग्न पनि सरम लाग्यो। त्यसैले यहिं लाठीको साहारमा सहयोगको लागि वार्ड कार्यालय धाइरहें। घरबाट ४–५ घण्टा हिंडेरै आफ्नै देउमाई नगरपालिका मंगलबारेमा मेयरको टेबल समाएँ। जनप्रतिनिधिदेखि हुनेखाने सम्मलाई मेरो र दिदीको दुःख सुनाएँ । भने जस्तो सहयोग पाइँन। अस्ति मंसिरताका दिदी बिमार पर्नुभयो। अस्पताल लैजाने पैशै भएन। आफूलाई जस्तै दिदीलाई पनि थप उपचार गर्न सकिंन। सरकारले हामी जस्ताको स्वास्थ्य उपचार सुबिधा दिए हुने थियो।’’ उनले गुनासो पोखे। उनले थपे ‘‘वार्ड कार्यालयबाट हामी दुबैले दृष्टिबिहीनको कार्ड पाएका छौं। मासिक रुपमा सामाजिक भत्ता त पाउँछौ । के गर्नु अरु कमाइ छैन । जसोतसो त गुजार चलाउदौ छौं । पोहोर साल नगरपालिकाले सुरक्षित नागरिक आवासको नाममा जस्तापाता फेरिदिए बाहेक अरु सुबिधा दिएको छैन। संघीय सरकारले दिने भत्ता बाहेक वडाले केही गर्न नसकेको पूर्व वडा सदस्य हेमराज मोरोहाङले बताए। नेपालको संविधानको मौलिक हकले बेसाहाराको संरक्षणको जिम्मा राज्यको हो भनिए पनि यो परिवारको जिम्मा सरकारले लिन सकेको छैन।

कान्छादाईले भने ‘‘सुन्दैछु यहिं २०८१ बैशाख १५ गते भोट हुदैछ छ रे। गाँउले नेताहरु भोट माग्न मेरो झुपडी धाउने छन्। दिदीभाईको भोट माग्दै पहिला जस्तो दालचामल, लुगा कपडा लिएर आउछन् होला। म पनि बुझि हेर्छु के मुख लिएर आउछन् नेताहरु ? पहिलाको चुनावपछि बाटोमा मलाई देख्दा तर्कनेहरु को–को हुन् मलाई राम्ररी थाहा छ। परारको साल हामी बस्ने खरले छापेको घरमा आगलागी भयो। चैत्रको मास खरको छानामाथी आगो सल्केछ। हामी दिदीभाई भित्रै उसिनेको फूलतरुल खाइरहेका थियौं । त्यतिकैमा घर बाहिर होहल्ला सुन्यौं। हामीलाई गाउँकाले निकाल्नसम्म भ्याए। दुबैजनाको आङ्गको कपडा बाहेक केही रहेन। खरले छापेको र बाँसको टाटीले बेरेको घर क्षणभरमा खरानी भयो। नागरिकता, भोट कार्ड, भत्ता कार्ड, लत्ताकपडा, थालबटुका सबै जलेर नष्ट भयो। हामी दिदिभाई हप्तौंदिन छिमेकीकोमा शरणमा बस्यौं । आँखाले नदेखे पनि मैंले सम्झिरहेको छु। कोहि नेता कार्यकर्ता फर्केर आएनन्। बरु गाँउले यसोधा, गंगा दिदीबहिनीहरुले सहयोग गरे। गाँउले मिलेर सानो तिनो बाँसको कच्ची बस्न सम्मलाई घरसम्म बनाइ दिए। यसपालिको चुनाबमा को–को के अनुहार लिएर आउँदो र’छन् बिचारेर बस्दैछु। तिनीहरुको चुनावी घोषणा पत्र सुन्नेछु । को–को के साइनो गाँस्दै भोट माग्न आउछन् ? हाम्रो लागि के नापिस भनेर सोध्नेछु।’’

छिप्पेको जाँडले रन्केको बेला साथीभाई सामु उनी पनि के कम महाभारतको धृतराष्ट्रले जस्तै भन्छन् ‘‘मान्छेको कालो सेतो मन म पनि छर्लङ्गै देख्छु हौ ! जाँठा हो हामीलाई छल्न नखोज नि ! देशको व्यवस्था फेरियो भन्ने सुन्छु खै त हामी जस्ताको अवस्था फेरिएको ? मेरो आत्माको दृष्टिले हेरिरहेको छु।’’