१२ मंसिर २०८१, इलाम। इलामको माङसेबुङमा जारी १७ औं अन्तराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (बुधबार) डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लव, फाल्गुनन्द गापा–१ नवमीडाँडा पाँचथरले पाहुना टोली मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग प्रतिश्पर्धा गर्दैछ।
वर्तमान धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्दको आश्रम रहेको धार्मिक पर्यटकीयस्थल माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा हुने प्रतियोगिता अन्तर्गत आज दिउँसो २ बजेदेखि खेल सुरु हुनेछ। प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा पाहुना टोली दार्जिलिङले डिफेन्डिङ च्याप्मियन तिजोक युवा क्लव पाँचथरको सामना गर्नेछ।
आजको खेलमा डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लव दार्जिलिङलाई हराउदै अन्तिम चारमा पुग्न चाहन्छ भने पाहुना टोली पनि डिफेन्डिङ च्याम्पियन टोलीलाई रोकेर अघिल्लो चरण प्रवेश गर्ने दाउमा हुनेछ। यसअघि मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लवलाई टाइब्रेकरमा ४–२ गोलले हराउदै दुधे युथ क्लव झापा सेमीफाइनल प्रवेश गरेको छ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता सञ्चालन भइरहेको हो।
