सन्देश सुब्बा
१४ मंसिर २०८१, पाँचथर। आगामी पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ११ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको अफिसियल गीत सार्वजनिक गरिएको छ ।
शुक्रबार फिदिम नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अफिसियल गीतको भिडियो स्क्रिनिङ् गरिएको हो। जिल्लास्थित राजनीतिक दल र खेलकुद सम्बद्ध संघ–संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले गीतको भिडियोका सार्वजनिक गरेका थिए।
अफिसियल गीतको भिडियो सार्वजनिक गर्दै नगर प्रमुख काफ्लेले फाल्गुनन्द गोल्डकपले पाँचथरको प्रतिष्ठालाई माथि उठाउन सहयोग गरेको उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिए। गोल्डकपको प्रबर्द्धन र प्रचारप्रसारका लागि अफिसियल गीत र भिडियो निर्माण गरिएको आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र लुङ्गेली मगरले बताए।
डीपी खनालको शब्द तथा शंकर थापा स्माइलको संगीतको रहेको गीतमा प्रताप दास, किरण भुजेल, देबेन्द्र बराल, कमल श्रेष्ठ, अशोक मुकारुङ, ससिका राई, ममता गुरुङ, दीपा सुहाङ, मुना ठटाल, दिप्सन लिम्बू, खेम सुब्बा र नोगेन हाङसरुम्बाको स्वर रहेको छ। सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज देबेश राई र रेकर्डिङ तथा सम्पादन योगेन मुकारुङले गरेका छन्। गीतको भिडियो फिदिम स्पोर्टिङ क्लवको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ।
फाल्गुनन्द गोल्डकप जिल्लाकै पुरानो फुटवल प्रतियोगिता हो। चालिसको दशकमा फिदिमका युवाहरुले सुरु गरेको टुर्नामेन्टकै निरन्तरताको क्रममा २०६५ मा यसले फाल्गुनन्द गोल्डकप नाम पाएको थियो। पूर्वी पहाडकै चर्चित फाल्गुनन्द गोल्डकपले २०७५ सालमा दशौं संस्करणपछि भने निरन्तरता पाउन सकेन। प्रतियोगिता हुने फिदिम माविको खेलमैदान पुनर्निर्माण र त्यसपछिको कोरोना–कहरका कारण गोल्डकपले निरन्तरता नपाएको हो।
कुनै समय पाँचथरको शान र प्रतिष्ठासँगै फुटवलको कुम्भमेला मानिने फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण ६ वर्षपछि आगामी पुस ६ गतेदेखि हुँदैछ। यसपल्ट प्रतियोगितालाई थप उत्कृष्ट र व्यवस्थित बनाउदै विरासत कायम गर्ने गरी तयारी भइरहेको फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र लुङ्गेली मगरले बताए।
यसपल्ट प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लवसँगै नेपालको ‘ए’ डिविजन क्लव, मोफसलका उत्कृष्ट र अन्तराष्ट्रिय टोली गरी दश टिमलाई सहभागि गराइने फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले जानकारी दिए।
भिडियो हेर्नुहोसः


