६ पुस २०८१ पाँचथर। सदरमुकाम फिदिममा ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता आज (शनिबार)देखि सुरु हुँदैछ।
फिदिम माविको खेलमैदानमा बिहान साँढे ११ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र लुङगेली मगरले बताए। प्रतियोगिताको उद्घाटन फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले गर्ने कार्यक्रम रहेको अध्यक्ष मगरले बताए।
औपचारिक कार्यक्रमपछि विद्यार्थीहरुको मार्चपास हुने र दिउँसो दुई बजेदेखि खेल सुरु हुने फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले बताए। दश टिम सम्मिलित प्रतियोगिताको उद्घाटन खेलमा आज पाहुना टोली भारतको करसाङ फुटवल क्लव र आयोजक फिदिम स्पोर्टिङ क्लवबीच प्रतिश्पर्धा हुनेछ।
प्रतियोगिताको दोस्रो खेलमा भोलि (आइतबार) मछिन्द्र क्लव काठमाडौँ र झापा–११ आमनेसामने हुनेछन्।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता हुने टोलीले नगद १० लाख ५५५ रुपैंयाँ र उपविजेता हुने टोलीले नगद ५ लाख ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
