Advertisement Ad

Advertisement Ad

यस वर्षको अमर नेम्बाङ साहित्य सम्मान कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई प्रदान गरिने

१७ माघ २०८१, पाँचथर। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने अमर नेम्बाङ साहित्य सम्मान यस वर्ष साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई प्रदान गरिने भएको छ।

सम्मान–पत्र सहित एक लाख रुपैंयाँ राशीको अमर नेम्बाङ साहित्य सम्मान २०८१ दुई स्रष्टाहरु साहित्यकार धरावासी र कवि स्मृतिलाई प्रदान गर्ने निर्णय भएको अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले जनाएको छ। सो सम्मान अमर नेम्बाङको छैठौं स्मृति दिवशको अवसरमा यहीँ माघ २६ गते पाँचथर सदरमुकाम फिदिममा आयोजित समारोहमा वितरण गरिने कवि धर्मेन्द्रबिक्रम नेम्बाङले जानकारी दिए। सो अवसरमा फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपस्थित जनकल्याण मावि, कक्षा–११ मा अध्ययनरत अञ्जना चेम्जोङलाई छात्रवृत्तिसँगै अन्य राहत सहयोगहरु समेत वितरण गरिने प्रतिष्ठानले जनाएको छ।

अमर नेम्बाङ साहित्य सम्मानबाट यसअघि २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा, २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७९ मा श्रवण मुकारुङ र प्रेम ओझा त्यस्तै २०८० मा बिमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित भइसकेका छन्।

पर्यावरणीय साहित्य लेखनका अभियन्ता अमर नेम्बाङ फाल्गुनन्द गाउँपालिका पाँचथरका पूर्व जननिर्वाचित अध्यक्ष एवम् कवि, साहित्यकार हुन्। उनको ‘सम्झनाका तरेलीहरु’ (संस्मरण), ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ (कविता कृति) प्रकाशित छन्। नेम्बाङ राजनीतिज्ञ, समाजसेवी एवम् पाश्चात्य साहित्यका व्याख्याता थिए।

वि.सं.१९९८ साउन २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवा गाउँमा जन्मिएका अमर नेम्बाङको वि.सं.२०७५ माघ २६ गते फाल्गुनन्द गाउँपालिकाको जननिर्वाचित अध्यक्ष रहेकै समयमा निधन भएको थियो।