२२ माघ २०८१, काठमाडौं। नेपालले पछिल्लोपल्ट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बङ्गलादेश विरुद्ध साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो। उक्त खेलमा नेपाल २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भयो। त्यसयता घरेलु महिला लिगमा व्यस्त नेपाली टोली अब इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्दै अन्तरराष्ट्रिय खेलमा पुनरागमन गर्ने तयारीमा जुटेको छ।
यो प्रतियोगिता फागुन ४ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुनेछ। प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमार सहभागी हुनेछन्। नेपाली टोलीलाई वाफ महिला च्याम्पियनसिप र साफ च्याम्पियनसिपमा उपविजेता बनाएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीको बन्द प्रशिक्षण गराइरहेका छन्। हाल ३५ खेलाडी प्रशिक्षणमा छन्।
‘केही खेलाडी विदेशमा छन् भने केही व्यक्तिगत कारणले उपस्थित हुन सकेका छैनन्,’ तामाङले भने। एन्फा महिला लिगको च्याम्पियन एपिएफ क्लबका खेलाडीहरूको वर्चस्व रहेको यो प्रशिक्षणमा एपिएफबाट कप्तान अनिता बस्नेतसहित १५ खेलाडी सहभागी छन्। उनीबाहेक एञ्जिला तुम्बापो सुब्बा, गीता राना, निशा थोकर, मनमाया दमाई, रेनुका नगरकोटे, साबित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, सरु लिम्बू, प्रीति राई, अनिता केसी, सविता रानामगर, रेनुका हमाल, साबित्री किशन र प्रतीक्षा चौधरी समेटिएका छन्।
लिग उपविजेता नेपाल पुलिस क्लबबाट उषा नाथ, अमृता जैशी, समीक्षा घिमिरे, पूजा राना, सम्झना लावती, रेखा पौडेल र बिर्सना चौधरी समेटिएका छन्। त्रिभुवन आर्मी क्लबबाट अञ्जना रानामगर, विमला चौधरी, विमला विक, चन्द्रा भण्डारी र हिमा चौधरी बन्द प्रशिक्षणमा छन्।
बागमती युथ क्लबबाट सुजाता तामाङ, पुष्पाकुमारी खड्का, सहारा लिम्बू, सेमिहाङ्मा लिम्बू पन्धाकले स्थान बनाएका छन् भने वालिङ नगरपालिकाबाट सुष्मा तामाङ, सुक्रिया मियाँ र मिना देउवा पनि अटाएका छन्।
संकटा फुटबल क्लबबाट यशोदा शाही र चन्द्रपुर नगरपालिकाकी सजनी ठोकरलाई पनि बन्द प्रशिक्षणमा राखिएको छ। कोशीबाट झुमा विश्वकर्मालाई पनि समावेश गरिएको छ। बन्द प्रशिक्षणमा ३९ खेलाडी बोलाइए पनि चार खेलाडी अनुपस्थित रहेको मुख्य प्रशिक्षक तामाङले बताए। ‘साम्बा, एञ्जिला र रेखा आउन बाँकी छन् भने अमिषा लेफ्टिनेन्टको प्रशिक्षणमा भएकाले टोलीमा फर्किने निश्चित छैन,’ उनले भने।
मुख्य प्रशिक्षक तामाङले एक हप्ताभित्र खेलाडीको संख्या घटाउने तयारी गरिरहेका छन्। उनलाई सहायक प्रशिक्षक श्याम मानन्धर, भगवती थापा र गोलकिपिङ प्रशिक्षक सुरज मोक्तानले सहयोग गरिरहेका छन्। (गोलनेपालबाट)
