२४ फागुन २०८१, पाँचथर। सदरमुकाम फिदिममा आज (शनिबार)देखि सुरु भएको पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रित पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा इन्ट्रा पथरी ११ फुटवल क्लवले विजयी सुरुवात गरेको छ।
फिदिम माविको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लवलाई २–० ले स्तब्ध पार्दै पथरी ११ ले विजयी सुरुवात गरेको हो। खेलको पाँचौं मिनेटमै सनम धिमालको गोलबाट पथरीले अग्रता बनायो। खेलको अतिरिक्त समयमा अंकित लिम्बूले गोल गर्दै टोलीलाई २–० को जीत दिलाए।
घरेलु दर्शकको समर्थन पाएको आयोजक पाँचथर क्लवले गोल गर्ने प्रशस्तै अवसरहरु चुकाउदा उद्घाटन खेलमै स्तब्ध हुनुपर्यो। खेलको म्यान अफ् दि म्याच पथरी ११ का गोलकिपर समीर क्षेत्री घोषित भए। उनले नगद ७ हजार ५ सय रुपैंयाँ प्राप्त गरे।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिको आशनबाट फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले गरेका थिए। फिदिम नगरपालिका जिल्लाकै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको मूख्य प्रबद्र्धक पनि रहेको छ।
प्रतियोगिता अन्तर्गत भोलि (आइतबार)को दोस्रो क्वाटरफाइन खेल लिग लिडर चर्च व्वाइज युनाइटेड क्लव काठमाडौं र छिमेकी मुलुक भारतको हिल्स फुटवल एकेडेमी बिच हुने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।
