सन्देश सुब्बा
२५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (आइतबार) भारतको हिल्स फुटवल एकेडेमीले ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंको सामना गर्दैछ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइन खेल दिउँसो २ः३० बजे फिदिम माविको खेलमैदानमा सुरु हुनेछ। पाहुना टोली हिल्स अन्तिम चारमा स्थान सुरक्षित गर्ने रणनीति सहित मैदान उत्रिनेछ। यता गत पुषमा मात्र यहीं मैदानमा ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधी उचालेको चर्च व्वाइज एउटै मैदानमा लगातार दोस्रो उपाधी चुम्न चाहन्छ। त्यसैले आजको खेल निकै रोमाञ्चक र प्रतिश्पर्धात्मक हुने अनुमान गरिएको छ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन आयोजक पाँचथर क्लव विरुद्ध २–० को जीत निकाल्दै इन्ट्रा पथरी ११ फुटवल क्लवले सेमीफाइन यात्रा तय गरिसकेको छ। चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
