Advertisement Ad

फिदिममा प्रदेश स्तरीय व्याडमिन्टन सुरु

Advertisement Ad

९ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गरे। पाँच विधामा हुने प्रतियोगिताको पहिलो दिनको मेन्स सिंगलका खेलहरु भएका छन्। अहिले मेन्स सिंगलका पहिलो चरणका खेलहरु सम्पन्न भएको छ।

जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका छन्। प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कवर्डहलमा सञ्चालन भइरहेका छन्। प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ। प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० हजार, १० हजार र ५ हजार रुपैंयाँ प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने बताइएको छ। । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका बिजेताले ३० हजार र उपबिजेताले १५ हजार रुपैंयाँ प्राप्त गर्ने छन्।

आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए। प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गरेको छ। प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकको अनुमान छ।

फोटोः दुर्गा खनाल