Advertisement Ad

Advertisement Ad

कुम्मायक कुस्सायक गोल्डकपः आयोजक यलम्बर युवा संस्थाको विजयी सुरुवात

१७ वैशाख २०८१, पाँचथर। कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आइतबारदेखि सुरु भएको कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपमा आयोजक यलम्बर युवा संस्थाले विजयी सुरुवात गरेको छ।

त्यहाँस्थि पृथ्वी माविको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलीसँग धरान फुटवल क्लव ४–१ गोलले स्तब्ध बन्यो। खेलमा हाबी भएको आयोजकका लागि सबै गोल दिल सम्बाहाम्फेले गरेका थिए।

खेलको ११ औं मिनेटमा वान भर्सेस वानमा धरानका गोलकिपरलाई विट गर्दै दिलले पहिलो गोल गर्दा आयोजक १–० को अग्रता बनाउन सफल भयो। खेलको २७ र ४४ औं मिनेटमा गोल गर्दै दिलले ह्याट्रिक पूरा गरेका थिए। उनैले ५७ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गर्दै अग्रता फराकिलो पारे। खेलको अन्त्यतिर धरानका लागि तपन कार्कीले सान्तवना गोल फर्काएका थिए।

जीत सँगै आयोजक सेमीफाइनल प्रवेश गरेको छ। खेलको म्यान अफ् दि म्याच आयोजकका दिल सम्बाहाम्फे बने। उनले नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत आज (सोमबार) दुई खेल हुनेछन्। दिउँसो १२ बजे पाँचथर फुटवल क्लव र ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवले खेल्नेछन् भने अपरान्ह ३ बजे इलामको रेडहर्स फुटवल क्लवले पूर्वाञ्चल एपीएफको सामना गर्ने आयोजकले जनाएको छ।

यासोक कुम्मायक कुस्सायकमा तीन–तीन बर्षमा लाग्ने तङ्सुम तङ्नाम त्रिशाली पूजा तथा मेलाको अवशरमा आयोजना गरिएको प्रतियोगितामा ८ टोलीको सहभागिता छ।