Advertisement Ad

Advertisement Ad

कुम्मायक कुस्सायक त्रिशाली गोल्डकपः दमक एकेडेमीको जीतसँगै सेमीफाइनल समीकरण पूरा

१९ वैशाख २०८१, पाँथचर। कुम्मायक गाउँपालिकाको यासोकमा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ।

पृथ्वी मावि यासोकको खेलमैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाको दमक एकेडेमीले मोरङको डाँगीहाट एफसीलाई टाइब्रेकरमा ५–४ गोलले हरायो। खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा दमक एकेडेमीले डाँगीहाट विरुद्ध ५–४ गोलको नजिता निकाल्दै सेमीफाइनल यात्रा तय गरेको हो। त्यसअघि खेलको २७ औं मिनेटमा सुनिल खड्काको गोलसँगै डाँगीहाटले खेलमा अग्रता बताएको थियो। तर, ४३ औं मिनेटमा आत्मघाती गोल उपहार पाउँदा दमक एकेडेमी खेलमा फर्किएको थियो।

खेलको म्यान अफ् दि म्याच दमक एकेडेमीका गोलरक्षक चरी लिम्बू बने। उनले नगद ५ हजार रुपैंयाँ प्राप्त गरे।

यो सँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको फाइनल प्रवेशका लागि दमक एकेडेमीले अब वैशाख २१ गते पाँचथर एफसीको सामना गर्नेछ। प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बिहीबार आयोजक यलम्बर युवा संस्थाले इलामको रेडहर्स एफसीसँग खेल्नेछ।

यासोकमा प्रत्येक तीन–तीन बर्षमा लाग्ने तङ्सुम तङ्नाम त्रिशाली पूजा तथा मेलाको अवशरमा आयोजित प्रतियोगिताको विजेताले नगद ३ लाख ५५ हजार ५ सय रुपैंयाँ र उपविजेताले १ लाख नगद ७७ हजार ७ सय ७७ रुपैंयाँ प्राप्त गर्नेछ।