Advertisement Ad

Advertisement Ad

पाँचथरमा १५ बर्ष मुनिका बुद्धिचाल खेलाडी छनोट सम्पन्न

१२ जेठ २०८१, पाँचथर। राष्ट्रिय खेलकुद विकास परिषदको जुनियर अर्थात् १५ बर्ष मुनिका बुद्धिचाल खेलाडी छनोट प्रतियोगिता अन्तर्गत पाँचथरमा शनिबार खेलाडी छनोट सम्पन्न भएको छ।

शुक्रबारबाट सुरु भएको बुद्धिचाल खेलाडी छनोट खेलमा जिल्लाका विभिन्न बिद्यालयमा अध्ययरत १५ बर्ष मुनिका ३२ जना बालबालिका बुद्धिचाल छनोट खेलमा सहभागि भएका थिए। प्रतियोगितामा पुरुषतर्फ ‘साँढे छ पोइन्ट’ अंक ल्याएर बिट्रीस कार्की प्रथम भए। त्यस्तै ६ अंक ल्याएर सन्दिप तामाङ द्वितीय भए। महिलातर्फ एञ्जिलीना तामाङले ‘साँडे दुई पोइन्ट’ अंक ल्याएर प्रथम स्थान हाँसिल गरे। दुई अंक ल्याएकी दृष्टि लिम्बू द्वितीय भइन्।

पुरुषतर्फ प्रथम हुने कार्की, द्वितीय हुने तामाङ र महिलातर्फ प्रथम हुने एञ्जिलीना फिदिमस्थित विद्याबरदान इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी हुन्। महिलातर्फ द्वितीय हुने दृष्टि लिम्बू भने फिदिमकै नयाँ नमुना माबिमा अध्ययनरत विद्यार्थी हुन्। उनीहरुले अब प्रदेश बुद्धिचाल खेल छनोटमा भाग लिन पाउने पाँचथर बुद्धिचाल संघका अध्यक्ष बिजय बोध लावतीले बताए। प्रदेश स्तरीय खेलमा छनोट हुनेले पोखरामा हुने राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए।

जुनियर अर्थात् १५ बर्ष मुनिका बुद्धिचाल खेलाडी छनोट प्रतियोगितामा बुद्धिचाल संघ पाँचथरका सचिव नन्दकुमार कुरुम्बाङ, पुर्व अध्यक्ष गजेन्द्र माबो, पुर्व उपाध्यक्ष जयबिक्रम चेम्जाङ र शिखर लिम्बुले आर्बिटरको भुमिका निर्वाह गरेका थिए। छनोट खेल समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्दै फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले तीनै तहका सरकारको समन्वयमा खेलकुद क्षेत्रको विकास र प्रबद्र्धनको काम भइरहेको बताएका थिए।