Advertisement Ad

जङ्गलमा छोडिएको हिलिहाङको इतिहास उजागर हुँदै

Advertisement Ad

– दुर्गा खनाल

२२ साउन २०८१, पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीमा रहेको छ, हिलिहाङ दरबार । यो तत्कालीन लिम्बुवान अन्तर्गत याङ्ग्रक थुमका राजा हिलिहाङ योङहाङको दरबार हो । यहाँ दरबारका भग्नावशेष र अन्य पुरातात्विक वस्तु अद्यापी छदैछन् । राज्य र सरोकारवाला मिलेर त्यसको संरक्षणको काम थालिएको छ । जङ्गलमा छोडिएको हिलिहाङको इतिहास झण्डै अढाईसय वर्षपछि क्रमशः उजागर हँुदै गएको छ ।

तत्कालीन लिम्बुवान अन्तर्गत याङ्ग्रक थुम, हस्तपुर यक (गढ)का राजा हुन्, हिलिहाङ । उनले याङ्ग्रक थुममा २८ बर्ष शासन गरेको इतिहास छ । नेपाल एकीकरणको अभियानका क्रममा राजा पृथ्वीनारायण शाह र हिलिहाङका फौजबीच पटक–पटक युद्ध भएको इतिहासमा उल्लेख छ । हारजीत नभएपछि सन्धि मार्फत् युद्धको अन्त्य भयो । केन्द्रीय सरकार गोरखालाई मान्ने याङ्ग्रकको अधिकार हिलिहाङलाई दिने सन्धि भयो । हिलिहाङको अवशानपछि क्रमशः दरबार र अन्य महत्वपूर्ण वस्तुहरु मासिदै गए ।

प्यागोडा शैलीमा निर्माण गरिएको हिलिहाङ दरबार।

२०७४ को स्थानीय तह निर्वाचनपछि तीनै तहका सरकारको संयुक्त पहलमा भग्नावशेष मात्र रहेको दरबारको पुनर्निर्माण, हिलिहाङ सङ्ग्रहालय लगायत हिलिहाङ क्षेत्रको विकासका लागि चार करोड बजेट लगानी भएको थियो । स्थानीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा संग्रहालय निर्माण गरिएको छ । संघीय सरकारको लगानीमा दरबार पुनर्निर्माणको काम भएको छ । संग्रहालय निर्माणमा प्रदेश सरकार, स्थानीय सरकार र जनताको लगानी छ । मेची राजमार्गबाट हिलिहाङ दरबार जाने प्रवेश मार्गमा ऐतिहासिक गेट, ११ साइजको हिलिहाङ रङ्गशाला फुटवल मैदान र हिलिहाङका दुई वटा सालिक सहयोगी दाताबाट संकलित रकमले निर्माण गरिएको छ । हिलिहाङ फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार ९४ लाख रुपैंयाँ रकम संकलन गरिएको थियो । सालिक निर्माणमा सहयोग गर्ने सहयोगीहरुको नाम शिलालेखमा राखिएको छ ।

हिलिहाङले दुश्मनसँग लड्दा प्रयोग गरेका खुढा, खुकुरी, तोप, करीव छ सय वर्ष अगाडी दरवार निर्माण गर्न तिब्बतबाट ल्याइएका इँटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यस स्थल ऐतिहासिक, पर्यटकीयसँगै पुरातात्विक दृष्टिकोणले पनि महत्वपूर्ण छ । हिलिहाङ दरबार क्षेत्र प्रबद्र्धनको काम पूर्ण रुपमा सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तब्य बन्ने गाउँपालिकाको अपेक्षा रहेको गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारीको भनाई छ । हिलिहाङ दरबार नजिकै बहूधार्मिक आस्थाको केन्द्र जोरपोखरी, ऐतिहासिक आगेजुङ गुम्बा, कालापानी, मिलुङ झरना जस्ता पर्यटकीय गन्तव्यहरु छन् । हिलिहाङ दरबारको भ्रमण गर्दा यी ठाउँहरु पनि घुम्न सकिन्छ ।

दरबार परिषरमा निर्माण गरिएको हिलिहाङको सालिक।

समुन्द्री सतहवाट करिब १९ सय मिटर उचाईमा अवस्थित हिलिहाङ दरबार क्षेत्र करिब १३ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँबाट कञ्चनजंघा र कुम्भकर्ण हिमश्रृङ्खला, पूर्वको प्रशिद्ध धार्मिकस्थल मुक्कुमलुङ (पाथीभरा) सँगै पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानहरुको दृश्यावलोकन गर्न सकिन्छ । मेची राजमार्ग अन्तर्गत फिदिम–ताप्लेजुङ खण्डको नागीस्थित हिलिहाङ चोकबाट करीब आधा घण्टाको पैदलयात्रामा हिलिहाङ दरबार परिषर पुगिन्छ । हिलिहाङ चोकबाट सवारी साधनको प्रयोग गरेर पनि दरबार परिषर पुग्न सकिन्छ ।

संग्रहालय सञ्चालनको तयारी
हिलिहाङ दरबार र संग्रहालयका भित्री संरचनाहरू बनिरहेको र अझै बन्न बाँकि छ । संग्रहालयमा हिलिहाङको दरबारमा प्रयोग भएका ऐतिहासिक र पुरातात्विक वस्तुहरू राखिनेछन् । ‘‘हामी हिलिहाङकालीन हातहतियार, ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको खोज र संकलन कार्यमा जुटेका छौं’’ फाउण्डेशनका अध्यक्ष योङहाङले भने । संग्रहालयमा हिलिहाङ राजाले प्रयोग गरेका अमाल, धमाल, सुभाङ्गी, तोप, खुँडा, बन्दुक, तरबार र झन्डाका अवशेषहरू संकलन गरेर राखिएका छन् । पृथ्वीनारायण शाहसँग गरिएका सन्धिका प्रमाण पनि संग्रहालयमा राखिनेछ ।

हिलिहाङ दरबारको भग्नावशेष।

संग्रहालयले हिलिहाङको मात्र होइन, सिङ्गो लिम्बुवानको इतिहासलाई जीवित राख्ने फाउण्डेशनका अध्यक्ष योङहाङ बताउछन् । संग्रहालयमा प्रदेशभरीका विभिन्न जाति, समुदायसँग सम्बन्धित ऐतिहासिक र पुरातात्विक वस्तुहरू पनि राख्ने तयारी छ । दरवार परिषरमा घेराबारा, गेट, चमेनागृहको व्यवस्थापन पश्चात आगामी आर्थिक वर्ष २०८२÷८३ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।

को हुन् हिलिहाङ ?
याङ्ग्रक थुम, हस्तपुर यक् (गढी)का राजा हुन्, हिलिहाङ योङहाङ । तत्कालीन लिम्बुवान अन्तर्गतका विभिन्न थुममध्ये याङ्ग्रक एउटा थुम थियो । त्यहाँ हिलिहाङ योङहाङले शासन गरेका थिए । हिलिहाङको जन्म १७८३ मा भएको थियो । ३१ वर्षको उमेरमा १८१४ मा उनले राजगद्दी सम्हालेका थिए । हिलिहाङले १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहास छ । हिलिहाङ चतुर, पराक्रमी र शक्तिशाली राजा थिए ।

हिलिहाङ दरबार प्रवेशद्वारमा निर्मित गेंट।

गोरखाका राजा पृथ्वीनारायण शाह र हिलिहाङका फौजबीच १७ पटक युद्ध भयो । तर, हारजित भएन । त्यसपछि १८३१ सालमा गोरखा र लिम्बुवानबीच सम्झौता भयो । जसअनुसार केन्द्रीय राज्य गोरखालीको हुने र स्थानीय प्रशासनिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हिलिहाङ राजालाई हुने सम्झौता भएको हिलिहाङको इतिहासबारे जानकार हिलिहाङ फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङ बताउँछन् । इतिहास अनुसार त्यतिबेला तिब्बत र सिक्किमको सम्भावित आक्रमणलाई मध्यनजर गरी संयुक्त शैन्य दस्ता निर्माण गर्ने सम्मका सम्झौता भएका थिए । पृथ्वीनारायण शाह र हिलिहाङका फौजबीच पटक–पटक भएको युद्धको क्रममा थुप्रै औपचारिक–अनौपचारिक सन्धि, सम्झौताहरु भएका थिए । दुई राजाबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो । शाह र योङहाङहरू दाजुभाई रहने गरी नेपाल एकीकरणको खाका तयार गरिएको थियो, भनिन्छ ।

हिलिहाङले लिम्बुहरूको उत्थान र विकासमा मात्र नभई, नेपाल एकीकरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हिलिहाङको निधन १८४४ मा भएको थियो । हिलिहाङको यहीँ वीरता र गौरवको गाथालाई सम्मान गर्दै गाउँपालिकाको नाम हिलिहाङ गाउँपालिका नामकरण गरिएको छ ।