२७ पुस २०८१, पाँचथर । फिदिम नपा–६ सिवा स्थित मगरगाउँमा माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा आयोजित खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार ७ खेल सम्पन्न भएका छन् ।
लाङ्घाली युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पुरुष तर्फको दोस्रो चरणको पहिलो खेलमा ठाडे एफसीलाई फिदिम–५ चोकमागुले ४–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा एफवाइसी चोकमागुलाई नेपाल मगर संघ सिवाले २–० ले पराजित गर्दा तेस्रो खेलमा सिवा ‘बी’ ले टारगाउँ चोकमागुलाई २–१ गोल अन्तरले पराजित गर्यो ।
चौथो खेलमा आङसराङ विरुद्ध नुमाफुङ सिवा २–० ले विजयी हुँदा पाँचौ खेलमा सिलौटिसँग एलटिए १–० ले स्तब्ध बन्यो ।
शनिबार भएको महिला तर्फको पहिलो खेलमा तिजोक युवा क्लव नवमीडाडाँलाई आयोजकले ४–० ले पराजित गर्यो। त्यस्तै दोस्रो खेलमा सिवा–३ ले लुम्फाबुङलाई १–० ले पाखा लगायो ।
प्रतियोगिता माघ १ गतेसम्म चल्ने आयोजक लाङ्घाली युवा क्लबले जनाएको छ ।
