सन्देश सुब्बा
१५ फागुन २०८१, पाँचथर। जिल्लाकै हालः सम्मको सर्वाधिक पुरस्कार राशीको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको पाँचौं संस्करण यहीं फागुन २४ गतेदेखि सदरमुकाम फिदिममा सुरु हुँदैछ।
फिदिम माविको खेलमैदानमा चैत २ गतेसम्म चल्ने प्रतियोगितामा चार ‘ए’ डिविजन टोली सहित नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
पाँचथर गोल्डकपको पाँचौं संस्करणमा ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लव काठमाडौं, मछिन्द्र फुटवल क्लव काठमाडौं, संकटा फुटवल क्लव काठमाडौं र विभागिय टोली नेपाल पुलिस क्लवको सहभागिता रहनेछ।
त्यस्तै पथरी ११ फुटवल क्लव मोरङ, नमोबुद्ध युवा फुटवल क्लव सप्तरी, भारतको हिल्स फुटवल एकेडेमी र आयोजक पाँचथर क्लवले पनि प्रतियोगितामा खेल्नेछन्। प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको एन्थम सार्वजनिक
यसैबीच पाँचथर क्लवले प्रतियोगिताको अफिसियल एन्थम पनि सार्वजनिक गरेको छ। हालै फिदिम नगरपालिकामा जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, खेल सम्बद्ध संघ–संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति रहेको कार्यक्रममा प्रतियोगिताको अफिसियल एन्थम सार्वजनिक गरिएको हो।
डिपी खनालको शब्द तथा देवेश राईको संगीत र एरेन्ज रहेको गीतमा पदम राई, विकास लिम्बू तुम्बापो, देवेश राई, डिपी खनाल, डेविट शंकर, दिप्सन लिम्बू, सूर्य आङदेम्बे, अशोक मुकारुङ, मदन सेन्चुरी, सगुन लाओती, मुना ठटाल, अमृता लिम्बू र सम्झना योङहाङले स्वर दिएका छन्। टिकाराम अधिकारी र पुरन मगरले बनाएको भिडियोलाई पाँचथर क्लवको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।
प्रतियोगिताको प्रचार–प्रसार र प्रवर्दनका लागि अफिसियल एन्थम निर्माण गरिएको पाँचथरका क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
भिडियो हेर्नुहोस्ः
