२७ फागुन २०८१, पाँचथर। विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० ले स्तब्ध पार्दै सप्तरीको नमो बुद्ध एफसी पाँचथर सदरमुकाम फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।
फिदिम माविको खेलमैदानमा आज (मंगलबार) सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लव काठमाडौं मोफसलको टोली नमो बुद्ध एफसीसँग स्तब्ध बनेको हो। नमो बुद्धका लागि एलेक्सले दुई र दिपेश राईले एक गोल गरे। खेलको म्यान अफ् दि म्याच नमो बुद्धका एलेक्स बने। उनले नगद ७ हजार ५ सय रुपैंयाँ प्राप्त गरे।
यो सँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। अब प्रतियोगिताको फाइनल प्रवेशका लागि भोलि (बुधबार) मच्छिन्द्र फुटवल क्लव र इन्ट्रा पथरी ११ बीच पहिलो सेमीफाइन खेल हुनेछ। त्यस्तै फागुन २९ गते दोस्रो तथा अन्तिम सेमीफाइनलमा चर्च व्वाइज युनाइटेड क्लव काठमाडौं र नमो बुद्ध क्लव बिच प्रतिश्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैंयाँ पाउने आयोजकले पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
