सन्देश सुब्बा
२८ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (बुधबार) देखि सेमीफाइनलका खेल सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा आज मच्छिन्द्र फुटवल क्लव काठमाडौं र इन्ट्रा पथरी ११ फुटवल क्लव बिच प्रतिश्पर्धा हुँदैछ। पहिलो सेमीफाइनल खेल दिउँसो २ः३० बजेदेखि फिदिम माविको खेलमैदानमा सुरु हुनेछ।
पथरी ११ पहिलो क्वाटरफाइनलमा आयोजक पाँचथर क्लवलाई हराउदै सेमीफाइनल प्रवेश गरेको टोली हो। मच्छिन्द्रले हिमालयन शेर्पा क्लवको सामनालाई पन्छाउदै अन्तिम चारमा स्थान बनाएको हो।
दुबै टोली आज हुने खेलमा जीत निकाल्दै फाइनल यात्रा तय गर्न चाहन्छन्। मच्छिन्द्र गत पुषमा मात्र यहीं मैदानमा ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपको फाइनल खेलेर उपविजेता बनेको टोली हो।
अढाई महिना अघि यहीं मैदानमा उपाधि चुम्नबाट चुकेको मच्छिन्द्र यसपल्ट आफ्नो अधुरो सपनालाई साकार पार्न चाहन्छ भने पथरी ११ फिदिमे मैदानमा उपाधि भिंडन्तका मच्छिन्द्रलाई रोक्दै अघि बढ्ने दाउमा हुनेछ। त्यसैले पहिलो सेमीफाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।
चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए। जिल्लामा हुने फुटवल टुर्नामेन्टहरुमा यो हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो।
