Advertisement Ad

Advertisement Ad

पाँचथर गोल्डकप: मच्छिन्द्र उपाधि नजिक

सन्देश सुब्बा

२८ फागुन २०८१, पाँचथर। मच्छिन्द्र फुटवल क्लव काठमाडौं पाँचथरको फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा इन्ट्रा पथरी ११ फुटवल क्लवलाई ३–१ गोलअन्तरले पराजीत गर्दै मच्छिन्द्र फाइनल प्रवेश गरेको हो।

खेलको २३ औं मिनेटमा विषाल घलानको गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले पछि परेको पथरी ११ दोस्रो हाफमा खेलमा फर्कन सफल भएको थियो। ६६ औं मिनेटमा अर्माण्ड विडोमले सुन्दर गोल गर्दा पथरी खेलमा फर्किएको थियो।

तर ८४ औं मिनेटमा स्टेफनले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए। त्यस्तै इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै मच्छिन्द्र फुटवल क्लवलाई ३–१ को जीत दिलाउदा पथरी ११ को उपाधी होड यसपल्टलाई समाप्त भयो।

खेलको म्यान अफ् दि म्याच स्टेफन बने। उनले नगद ७ हजार ५ सय रुपैंयाँ प्राप्त गरे। उनलाई आजको कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिताको दोस्रो तथा अन्तिम क्वाटरफाइनल खेलमा भोलि (बिहीबार) ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लव र सप्तरीको नमो बुद्ध एफसी आमनेसामने हुनेछन्।

प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लवले जनाएको छ।