Advertisement Ad

जिल्लाबाजेको अविचलित संघर्ष

Advertisement Ad

– सन्तोष नेम्बाङ लिम्बू

१३ माघ २०८०, शनिबार। राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका बी.पी.कोइराला सहित मन्त्रीमण्डलका अन्यलाई गिरफ्तार गरी कैद गरे। राजाले आफ्नो अनुकुलता अनुसार पञ्चायतको नाममा निरङ्कुश शासनको थालनी गरे। २००७ साल सम्मको क्रान्तिपछि प्राप्त जनताको अधिकार पुनः राणा शैलीमा पञ्चायत मार्फत् दोहोरियो। राजनैतिक दलहरु प्रतिबन्धमा परे। राजनैतिककर्मीहरु अराष्ट्रिय तत्वको नाममा जेल पर्न थाले।

यस्तो राजाको निरङ्कुश कदम विरुद्ध पूर्वी नेपाल लिम्बुवानको चारखोल–पान्थर तिर जनताको अधिकार प्राप्तिको लागि हतियार उठाइयो। जसको नेतृत्व पान्थर पौवासारतापका स्व.भूविक्रम नेम्बाङ, स्व.कृष्ण बिक्रम नेम्बाङ, हेलाङका धोबिनाथ नेम्बाङले गरेका थिए। मैंले वाल्यकालमा देखेका उनै जीवित विद्रोही धोबिनाथ नेम्बाङको संर्घषशील जीवनलाई स्मरण राख्न चाहें।

मेरो मावली घर पान्थर साबिक चिलिङदेन–७ हेलाङ हो। हेलाङ गाँउमा ७, ८, ९ गरी चिलिङदिन गा.वि.स.का तीन वटा वडाहरु समेटिएका थिए। वि.सं. २०४६ ताका मैंले हेलाङको पैंयुेबोटे प्रा.वि.मा कक्षा–३ मा भर्ना पाएँ। इलाम सदरमुकामको बालमन्दिरमा कक्षा–२ पास गर्दा एवीसिडी–वानटुथ्री जानी सकेको थिएँ। कक्षामा हेलाङका कक्षा सहकर्मीहरुलाई कपीको पाना दिने सर्तमा एविसीडी सिकाउथें।

श्री पैंयुँबोटे पाठशालाको माथिल्लो सिमानातिर जहाने खलकका करिव ४ घर परिवार एकै आँगनजस्तो गरी बनाइएका घरहरु थिए। जसमध्ये छेउको रातो माटोले पोतिएको पुरानो घर, गतसालको हिउँदमा घरको छानामा खर नछापेर होला यसपालिको बर्खामा पानी चुहीएर ढुङ्गाको गारोहरुमा पानी बगेको छापैछाप देखिने, छानाको ठाउँ–ठाउँमा देखिने साना–साना भ्वाङ्हरु, झ्याल–ढोकाको चौकट र निदाल मात्र अवशेष रहेको घर चाँहि धोबिनाथ बाजेको थियो।

क्रान्तियोद्धा धोबिनाथ नेम्बाङ।

गाउँघरमा उहाँलाई धेरैजसोले ‘जिल्ला बा’ भनेर बोलाउथे। उहाँको घरपरिवार चाँहि त्यहिं पुरानो घरको आँगन छेउमा सानो अस्थायी रुपमा बनाइएको भुइँघरमा स–परिवार बस्नुभएको याद छ। घरको घुर्यान, पाखोबारीमा उहाँका गाईवस्तु,बाख्राका माउहरु पालिएका थिए। बिहान बेलुका मेरै दामलका उहाँका जेठा छोरा सूर्य र म प्रायः गाइवस्तु र बाख्रालाई घाँस काटन जाँदा भेहिरहन्थ्यौं।

घरदेखि करीब सय मिटर दुरीमा हेलाङका यक्खोडाँडा देखि जहाने परिवार लगायत करिब दर्जनभन्दा बढी घरधुरीले प्रयोग गर्ने खानेपानीको कुवा थियो। कुवामा पानी लिन जाने क्रममा साँझ बिहान धोबिनाथ बाजे, ‘जिल्ला बाजे’सँग जम्काभेट हुन्थ्यो। भेटमा बाजेले ‘हाम्रो इलामे नातीको पानीको गाग्री भरिएन कि ?’ भन्दै बोलाउँदा म ‘भर्न लाग्यो बाजे’ भन्थें। त्यसबेला हेलाङ गाउँमा खानेपानीको हालको जस्तो सुविधा थिएन। बिहान सबेरै कुवा नपुगे रित्तो गाग्रीमा घर फर्कनु जस्तो सरम केहि हुन्नथ्यो।

खेतीकिसानीले धानिएको हेलाङ गाँउ। उब्जनी खासै नहुने। हिउँद याममा प्रायः लक्का जवानहरु पैसा कमाउन भन्दै परदेश जान्थे। खेतीपाती गर्ने याममा पुनः गाउँघरतिरै फर्किएर आउथे। समय अनुसार फलेका अन्नवाली खाई छाक टार्नु पथ्र्यो। साउनदेखि कात्तिकसम्म मकै, भटमास र सीमीले छाक टार्नु पर्ने। मंसिर देखि पुगे सम्म चामलको भात ‘अच्छा तक’ र आलु उसिनेर छाक टार्नु पर्ने। चामलको कनिका वा गहुँ भुटेर पानी उमाली चिया पिउनुपथ्र्यो।

पाठशालामा लाउने कपडामा नै राँके–पञ्चमी बजार भर्नुपर्ने। बेला–बेलामा मासु खान १५ दिनपछि लाग्ने घुर्विसे पञ्चमी बजार पुग्नुपर्ने। गाँउघरमा कहिलेकाँहि संक्रान्ति, दशैं वा माघे जाडोको यामतिर गाँउलेहरु मिलेर भागी (बराबर पैशा उठाएर, बराबर मासि भाग लाएर बाड्ने चलन) राँगा–भैंसी काट्थे। मासुको रस पिउन औधी मन पर्ने। मासु खान पञ्चमी लाग्ने दिन पर्खनु पर्ने। नभए कसैको बिहे भतेर नै आउनु पथ्र्यो।

सानोमा हामी जाडो याममा ‘आछुछुछु जाडो, टुप्टी ठाडो, लिम्बूको बिहेमा राँगो, पाडो’ भन्दै बिहे कार्जेमा जान्थ्यौं। सम्झदा त्यतिबेलाको गाँउले जीवन अभाव र दुखकष्टले भरिएको थिएछ। मलाई चाँहि गाँउका मामा, माइजु पर्नेहरुले ‘माछा, मासु खान पाइरहने तिमी इलामे किन यता खान नपाइने ठाउँमा बसेको हौ ?’ भन्दै जिस्काउथे। मलाइ चाँहि किन हो किन इलाम बजार भन्दा मावली गाँउको सौन्दर्यता नै रमाइलो लाग्थ्यो।

पान्थर चिलिङदिन हेलाङको फेदीमा निवुखोला छ। जहाँ चैत्रको रामनवमीमा बर्षेनी साप्सु मेला भरिन्थ्यो। म प्रायः मावली बाजेसँग हिउँदभरी साप्सु नजिकैको फिचुक खेतको याक्सामा बस्थें। साप्सुबाट हेलाङतिरको पश्चिम–उत्तर उकालो चढेपछि थोक्वा खोल्सी, जहाँ केसामी–नाम्सामी वरक नामको ढुङ्गामाथी दायाँ–बायाँ कहिल्यै नसुक्ने दुईवटा पोखरी हेरेर म कहिल्यै अघाउदिन थिएँ। अझ उकालो चढ्दा हेलाङको मध्यभागमा रहेको इन्द्रेणी खेतको बीचमा एक्लो अग्लो तेङ्गोबुङ अर्थात् सिमलको अजङ्गको रुख जुगौंदेखि ठडिएको छ। जहाँ लिम्बू मुन्धुम अनुसार केसामी र नाम्सामीबीचको युद्धको क्रममा केसामी मरेको कथन सुन्दा हेलाङ गाँउप्रति मलाईं औधी निकटता पलाउछ।

तेङ्गोबुङ्बाट अझ माथि उकालो चढ्दा यक्खो कोक्मा र वरपीपलको जोडी जहाँ साप्सुदेखि ठाडो उकालो लाग्दा चलिरहेको चिसो बतासमा थकान मार्न पाउदा लाग्छ, तारानाथ शर्माको निवन्ध ‘घनघस्याको उकालो’को वर्णनभन्दा कम छैन हेलाङको उकालो। माथि वरपीपलको चौतारीमा थकाई मार्दै यसो उत्तरतर्फ हेर्दा यक्खोराजाले घाम ताप्ने खटिया जस्तो ढुङ्गा, डाडाँको बीचमा अवस्थित नुहाउने पोखरी देख्छौं। त्यसपछि यसो नजर लाउदै जाँदा यक्खो डाँडामुनि वदोहाङ राजाले पूजाआराधाना गर्ने खेतैखेतको बीचमा देखिने थुम्की डाँडा कति रहरलाग्दो देखिन् । डाँडा पारिपट्टी तिजक, नाम्फुनयक डाँडाकाँडाहरु, माथि पश्चिमतर भने लिम्बू मुन्धुम अनुसार केसामीको छाला सुकाइएको स्थल सेहोनाम्लाङ डाँडा हुँदै ओसाँगु कुम्मायक–कुसायक डाँडापाखाहरुको दृश्यले मन सधंै उतैतिर तानिरन्छ।

हेलाङको साप्सु मेला, इन्द्रेणी मेला, नवमी, पन्चमी बजार मलाई इलाम बजारभन्दा रमाइलो लाग्थ्यो। प्रायः मेला बजार जाँदा म उनै ‘जिल्ला बाजे’को छोराहरु सूर्य र चापाहाङ्सँग हुन्थें। मेला बजारबाट फर्किदा बिसौनी–चौतारीमा गफिँदा उनीहरुले हाम्रो बुवालाई जिल्ला भन्छन् भन्दै मलाइ सुनाउथे।

अग्लो कद, दौरासुरुवाल लवेदा, कालो कोट, ढाका टोपीमा साँच्चै जिल्ला बाजे ठूलै नेता हुन् जस्तो लाग्थ्यो । मैंले ‘जिल्ला बाजे’ भनेको के होला भन्ने जिज्ञासा राख्दा उनीहरुले देशका अरु जिल्ला पनि घुमेकोले जिल्ला भनेका हुन् भन्थे। २०४८ सालको संसदीय चुनावताका नेपाली कांग्रेसका उम्मेद्धार स्व.भूविक्रम नेम्बाङ हेलाङमा आयोजित चुनावी सभामा आएका थिए। उसबेला अग्लो कदका जिल्ला बाजेले दुबै हात पछाडी राखेर सतर्क शैलीमा उभिएर उपस्थित गाँउलेहरुलाई घरी दायाँ, घरी बाँया टाउको घुमाउदै हेर्दै बिस्तारै–बिस्तारै बोल्न थाल्नु भयो, ‘नेपाली कांग्रेस तपाईं हामी जनताको पार्टी हो, हामीलाई खानेपानी, मोटरबाटो, शिक्षा, खेलकुदको विकास चाहिएको छ, तेसैले यो पार्टीलाई बहुमतकासाथ विजय गराउन अनुरोध गर्छु …’ आदी कुराहरु राख्दै हेलाङको चुनावी सभालाई सम्बोधन गर्नुभयो। उपस्थित सबैले ताली बजाए जिल्ला बाजेको समर्थनमा। पछि चुनाव भयो। तर चुनावी परिणाम उहाँहरुको पक्षमा आएन। जिल्ला बाजे बर्खाभरी गाँउ आउनु भएन। सुन्थें– माथि फेदेन जिल्लातिर नै घुम्दै छन् रे।

एकदिन हिउँदको याम। हामी उहाँको घरछेउ सीमाना रहेको मावली खेतमा हालः लारुम्बा बस्नुहुने माइलामामा–माइजु र गाउँले खेतालाहरुसँग गाईभैंसीको गोठबाट सिरान खेतमा मल ओसारीरहेका थियौं। जिल्ला बाजेको आँगनमा ५–७ जना मान्छेहरु भेलिएर घरको सिकुवामा कसैले चिया, कसैले खोसेलामा बेरेको सुर्ती तान्दै गफिरहेका थिए। लाग्यो, त्यहाँ केहि विषयमा छलफल भइरहेको छ। म चाँहि सानो डोकोमा मलको भारी बोकेर आफ्नै बाटो हिंडे पनि मेरो ध्यान भने त्यतातिर नै थियो।

उनीहरुले घरी–घरी सिरान खेतमा मल छरिरहेका माइला मामालाई पनि ‘हौ माइला सम्मासिक थाङेना’ अर्थात् ‘एकछिन यहाँ आउन हौ’ भन्दै बोलाउथे। मामा चाहि भोलि यहिं खेतमा मकै छरेर परदेश जानुछ भन्दै ओसारेको मल हातले चारैतीर छरिरहनुहुन्थ्यो। जिल्ला बाजेको सिकुवामा भेलिएकाहरुमध्ये केहिले लिम्बू भाषामा यो के तरिका हो? भएन, भाखा नाग्यो, हुदै हुदैन, कति पर्खनु ? आदी कुराहरु गरिरहेको बेला–बेला सुनिरहेको थिएँ।

मलको भारी ४–५ चोटी खेतमा घोप्टाइन्जेलसम्ममा जिल्ला बाजेको आँगनमा कसैले कोरली गाई, कसैले बाख्राको माउ जबरजस्ती तानिरहेको देखें। सम्झें, जिल्ला बाजेले बेच्न पञ्चमी लान आँटेका हुन्। यतिकैमा जिल्ला बोजुले केहि दिन पर्खनु हामी दिन्छौं, हामी कहिं जाँदैनौ भन्दै हुनुहुन्थ्यो। सिकुवाको एक छेउमा जिल्ला बाजे र छोराछोरीहरु केहि नबोली उभिरहेका थिए। यतिकैमा उनीहरुले गाई, बाख्रा माउ तानेर पैंयुँबोटे स्कूलको मुलबाटो हुँदै जबरजस्ती डोर्याउदै लगे। हामीले मल बोकेको खाली डोकोको नाम्लो सम्हाल्दै हेरीरह्यौ।

बेलुका मैंले बोजुलाई सोधें, ‘किन गाँउले मामाहरुले जिल्ला बाजेको गाई–बाख्रा लगेका हुन् ?’ बोजुले भन्नुभयो, ‘अस्ति दशैंमा जिल्ला बाजे खै कति धार्नी मासुको जमानी बस्नुभएको रे, तिर्न नसकेर गाई–बाख्रा तानेका रे।’ बोजुको कुरा सुन्दा भित्रभित्रै चिसो पसे जस्तो भयो। टाउको फुलिएर आयो। केहि हराएको जस्तो लाग्थ्यो। सानोमा गुचा खेल्दाखेल्दै आफुभन्दा ठूलाले खोसेर जवरजस्ती लगिदिए जस्तो भएर आयो। त्यो रात मलाई निद्रा नै परेन। ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु भनेझंै जिल्लाबाजेलाई व्यवहारले साथ दिएन। सम्झें, भागि मासु अरुले खाने, जमानी बस्नुपर्ने चाँही जिल्लाबाजेले। पैसा तिर्न नसकेर गाई–बाख्रा नै लगिदिनु त भएन नि? घरवारी बन्दक राखेर भा’नि तिथ्र्यो होला भन्दै मावली बाजे–बोजु घरीघरी गनगनेको सुन्थें।

यो दृश्यले मलाईं हिउँदमा छरेको मकै एकोहोरे गोडिन्जेलसम्म किन–किन छोइरह्यो। त्यतिन्जेल जिल्लाबाजे बाहेक जिल्ला बोजु, छोराछोरीले अस्थायी घर छाडेर चारखोलतिर बसाइँ गए है भन्दै मावली बोजुले सुनाउनुहुन्थ्यो । म पनि कक्षा पाँचको रिजल्ट आएपछि मावल हेलाङबाट इलाम फर्के।

मैंलै हेलाङ छाडेपछि किपट भूमीका मालिकहरु भूमीहिन सुकुम्बासी भएर गाँउघर छाड्ने परिवाहरु जस्तै जिल्ला बाजेले पनि गाँउघर छाडी परदेश बसाइँ सर्नु भएछ। हाल इलाम गजुरमुखीमा स–परिवार बसाइँ आएको थाहा पाएँ। हाल सुन्छु जिल्लाबाजेको गाँउ हेलाङमा पहिला जस्तो दुःख छैन। खानेपानीको धाराहरु टोलटोलमा पुगेका छन्। हेलाङमा मोटरबाटोको परिकल्पना गरिएको थिएन। हिजोआज एम्बुलेन्स पुग्ने गरी चारैतिर बाटो खोलिएको छ। शिक्षा र खेलमैदानको विकास भएको छ। अधिकांश युवाहरु खाडीदेखि कोरिया पुगेर आर्थिक सुधार भएको छ। मासु खान पञ्चमी बजार धाउनु र कसैले पनि जमानी बस्नु पर्दैन। भने जस्तो खान, लाउनलाई हाम्रो पालामा जस्तो दुःख छैन। जिल्लाबाजेले विगतको चुनावी सभामा भने जस्तो विकास हुँदै गइरहेको रहेछ।

नेपाली कांग्रेस पाँचथरले गरेको सम्मान ग्रहण गर्दै धोबिनाथ।

हेलाङ मावली छोडेर इलाम आएको तीन दशक पछि २०१७ सालका क्रान्तिका योद्धा कृष्ण विक्रम नेम्बाङले प्रकाशन गर्नुभएको ‘लिम्बुवानको इतिहास’ नामक पुस्तक पढे। स्व. भू–विक्रम नेम्बाङको क्रान्तिको नालीवेलीहरु अग्रजहरुबाट सुनें तपाईं धोबिनाथ नेम्बाङ २०१७ साल कान्तिका जीवित योद्धा भएको थाहा पाएँ। प्रजातन्त्र स्थापनाको खातिर पाँचथरबाट पक्राउ परी धनकुटाको जेलमा पञ्चायतले थुनेको इतिहास जीवितै रहेछ।

असली कुरो चाँहि वि.स. २०२२ सालमा नेपाली कांगेसको जिल्ला सदस्यमा निर्वाचित हुनुभएकोले गाउँघरमा ‘जिल्ला बा’ भनि नयाँ परिचय दिएका रहेछन्। हालै २०८० पुस १३ गते नेपाली कांगेसको पाँचथर जिल्ला अधिवेसनमा डा.शेखर कोइरालाको प्रमुख आतिथ्यमा बीस हजार रुपैंयाँ सहित प्रजातन्त्र सेनानीको रुपमा धोबिनाथ नेम्बाङ सम्मानित हुनुभएको छ।

नेम्बाङसँगैको राजनैतिक सहयात्रीदेखि पछिल्लो पुस्ताका राजनैतिककर्मीहरु राष्ट्रिय राजनीतिमा उपल्लो दर्जा र शक्तिमा पुगेका छन्। तर, जिल्लाबाजेलाई एकछाक खाएर भए पनि जीवनको अन्तिम क्षणहरुमा अविचलित रुपमा राजनैतिमा आस्था, निष्ठा, त्यागको पर्यायवाची बनेको देख्छु। १७ सालको क्रान्तिका जीवित योद्धाले पक्कै राणा–राजा देखि गणतन्त्रको युग भोगिरहनु भएको छ।

मेरो जिज्ञासा– यति लामो राजनैतिक कालखण्डमा धोबिनाथ उर्फ जिल्लाबाजेले परिकल्पना गरेको समाज कस्तो हो? व्यवस्था फेरियो किन सर्वहाराहरुको अवस्था फेरिएन? नेपाली माटो, बी.पी.को बाटो देखि रङ्वादी कवि धर्मेन्द्र विक्रम नेम्बाङको जस्तो हरियो समाजवाद किन हुन सकिरहेको छैन? यस्ता अनेक जिज्ञासाहरु विगतमा पान्थरका हेलाङवासीहरुले भोगेको अनुहारबाट खोजिरहेको छु ।