Advertisement Ad

चौतारा, फलैंचा, पार्टीपौवाको बिजोग

Advertisement Ad

सन्देश सुब्बा

१४ माघ २०८०, पाँचथर। एक समय थियो– पैदलमार्गको ठिकठिक ठाउँमा बनाइएका हुन्थे, चौतारा, फलैंचा, पार्टीपौवा । बाटो हिंड्ने बटुवा एकैछिन भए पनि चौतारा, फलैंचामा सुस्ताएर मात्र बाटो लाग्थे । बरपिपलको शितल छहारीमुनि थाकेको शरीरलाई बिसाउथे । सुस्केरा हाल्थे । सुसेली मार्थे । आनन्दको अनुभूति गर्थे ।

बीच बाटोमै रात परे चिन्ता हुन्नथ्यो, छँदै थियो पार्टीपौवा । साथुसामल साथमै बोकेर हिंड्ने भरिया पार्टीमै पकाएर खान्थे । पार्टीमै बास बसेर भालेको डाकसँगै बाटो लाग्थे । डेढदुई हारहारी मात्रै अघिको यो यथार्थ बिकासको निर्माणको क्रमसँगै हुर्किदै गरेको पुस्ताका लागि ‘कथा’ जस्तै बन्दै गएको छ ।

समाज बिकासको चरणसँगै चौतारा, फलैंचा, पार्टीपौवा जस्ता सामाजिक संरचनाको अस्तित्व संकटमा परेको छ । दूरदराज मानिएका गाउँघर सडक सञ्जालले जोडिएपछि पैदल मार्ग विस्थापित भएका छन् । सडक सञ्जालले पैदल मार्गहरुलाई विस्थापित गरेसँगै यस्ता संरचनाको बिजोग भएको हो ।

पुराना सामाजिक संरचनाबारे चासो राख्ने, खोजकर्ता लक्ष्मण लाओतीका अनुसार पहिले–पहिले आफन्तजनको देहावशानपछि मृतकको स्मृतिमा चौतारा, फलैंचा वा पार्टीपौवा बनाउने प्रचलन थियो । मृतकको आत्माको शान्ति र पुन्य प्राप्तीका लागि यस्ता संरचना निर्माण गरिन्थे । तर बिकासको क्रमसँगै अहिले यी संरचना बेकम्मा जस्तै भएका छन् ।

पाँचथरको हिलिहाङ–४, सिवुवामा जीर्ण अवस्थामा रहेको चौतारो । तस्विरः सुम्हात्लुङ टाइम्स

यस्ता संरचनामा रोपिने बर–पिपलको रुख मानव स्वास्थ्यका लागि समेत राम्रो हुने बताइन्छ । यी संरचनाले सामाजिक–साँस्कृतिक महत्व समेत राख्ने भएकाले संरक्षण आवस्यक रहेको लाओती बताउछन् । यसले आउदो पुस्तालाई समाज बिकासको चरण र नेपाली सामाजिक–साँस्कृति पक्षबारे बुझ्न मद्धत पुग्ने लाओतीको भनाई छ ।

कुना–कुनामा यातायातको सुबिधा पुग्दा यस्ता संरचनाहरुको अस्तित्व अप्ठ्यारोमा परेको पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मधुराज केरुङ बताउछन् । चौतारा–फलैंचा बनाउने संस्कृतिलाई समय सापेक्ष ढंगले निरन्तरता दिन सकिने उनको भनाई छ । पहिले पैदल मार्गमा बनाइने यस्ता संरचनाहरु अब गाउँ–टोलको आसपासमा ‘पार्क’ शैलीमा निर्माण गरिनु उत्तम हुने उनले बताए ।

जिल्लामा यस्ता संरचना नगन्य मात्रामा छन् । तर पैदलमार्ग विस्थापित भएसँगै प्रायः सबै जीर्ण अवस्थामा पुगेका छन् । मानिसको पद्चाप बिनाका पैदलमार्ग मेटिएर गएका छन् । मानव अवागमन बिनाका यस्ता संरचना भत्किएर जाँदैछन् । यस्ता संरचनाको महत्व र संरक्षणबारे स्थानीय तहहरुले पहल गर्नुपर्ने सरोकारवाला बताउछन् ।